काठमाडौं । अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालू खर्च कटौतिको निर्णय गरेसँगै मन्त्रालयको ९ करोड ५७ करोड रुपैयाँ जोगिने भएको छ । अर्थ मन्त्रालयले सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेसँगै मन्त्रालयको सो रकम जोगिने भएको हो ।
मन्त्रालयले विभिन्न १७ शीर्षकमा विनियोजन गरिएको रकम कटौती गर्दा ९ करोड ५७ लाख १६ हजार रुपैयाँ जोगिने भएको बताएको छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नम्बर ३७९ मा ‘सरकारी निकायको चालू प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गर्ने उल्लेख थियो ।
सबैभन्दा धेरै रकम विभिन्न महाशाखाका लागि छुट्टाइएको कार्यक्रम स्थगित हुँदा सो रकम बचत हुने बताएको छ । सबै महाशाखाका लागि छुट्टाइएका कार्यक्रमहरु प्राथामिकीकरण गरि अति आवश्यक कार्यक्रमहरु मात्र गर्ने मन्त्रालयको योजना छ ।
चालू आवमा स्वीकृत कार्यक्रमहरु स्थगन गर्दा २ करोड १३ लाख २५ हजार, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालादारीमा कामकाजमा नलगाउँदा १ करोड ७७ लाख ८३ हजार, बजेट निर्माणको समयमा बिहान बेलुका अतिरिक्त समयमा काम गरे बापत दिइँदै आएको प्रतिदित ६ सय रुपैयाँलाई चालू आवमा भुक्तानी नदिने, भुक्तानी दिनैपर्ने भएमा ३ सय रुपैयाँ मात्र भुक्तानी गर्दा १ करोड १५ लाख १० हजार रुपैयाँ जोगिनेछ ।
यस्तै, अति आवश्यक बाहेकका स्वदेशी तथा वैदेशिक भ्रमणलाई निरुत्साहित गर्दै उक्त शिर्षकमा रहेको ५३ लाख ५० हजार रुपैयाँ जोगिने मन्त्रालयले जनाएको छ । दुई पाँग्रे तथा चार पाँग्रे सवारी साधन सर्भिसिङ्ग गर्दा आवश्यक भएमा मात्र मोविल तथा लुब्रिक्यान्ट फेर्न (जस्तै, प्रत्येक पटक सर्भिसिङ्गमा मोबिल तथा लुब्रिक्यान्ट फरिरहनु नपर्ने हुनसक्छ ।) ३० लाख २४ हजार रुपैयाँ, अति आवश्यकदेखि बाहेक थोरै र पकटको रुपमा प्रयोग हुने सामान स्टक नराख्दा १ करोड २३ लाख रुपैयाँ बचत हुनेछ ।
यस्तै, कार्यालयमा प्रयोग भएका पर्दा, कर्पाेटिङ तथा फर्नेसिङका सामग्रीको उपयोग गर्ने, सम्भव भएसम्म नयाँ सामग्रीहरु खरिद नगर्दा ९ लाख, नयाँ पत्रिका खरिदको सदस्यता नलिँदा ३२ लाख ४० हजार, मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धी पुस्तक वा अन्य पुस्तक तथा पर्चाहरुलाई छाप्न निरुत्साहन गरी वेवसाइटमा राख्दा ८० लाख ६० हजार रुपैयाँ जोगिने मन्त्रालयले जनाएको छ ।
अति आवश्यक विना एसि, हिटर र पर्खाको प्रयोग नगर्दा ६५ लाख ५२ हजार, बोतलको पानीलाई निरुत्साहन गरी जारको पानी प्रयोेग गर्दा ३ लाख ६० हजार, मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामको लागि वाह्य परामर्श सेवा खरिदमा ३६ लाख ९२ हजार, बैठकहरु कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउने, कार्यालय समय भित्र गर्न नसकी अगाडि पछाडि बस्नुपर्नै भएमा बैठकहरु नगरी नहुने न्यूनतम संख्यामा मात्र गर्दा १६ लाख २० हजार रुपैयाँ जोगिने अर्थले प्रक्षेपण गरेको छ ।
साढे २४ अर्ब जोगिने
अर्थले संघीय सरकारको सबै मन्त्रालय र निकायको स्वीकृत बजेटको इन्धन, मर्मतसम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सेवा र परामर्शलगायत शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्न सिफारिस गरिसकेको छ ।
त्यस्तै, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च, भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, निर्मित भवनको संरचनात्मक सुधारलगायत शीर्षकको बजेटमा पनि २० प्रतिशत खर्च कटौती गरिएको छ ।
खर्च कटौतिको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ गरी २४ अर्ब ५० करोड रुपैयाँ बचत हुने मन्त्रालयले जनाएको छ ।