उच्च ब्याजदर र बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन् : मुख्यमन्त्री कार्की

<p>काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा बोल्दै उनले व्यवसायी ब्याजकै कारण भौँतारिनुपरेको बताए । पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले राष्ट्र बैंकले राम्रो मौद्रिक [&hellip;]</p>

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् । उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा बोल्दै उनले व्यवसायी ब्याजकै कारण भौँतारिनुपरेको बताए । पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउनु पर्ने बताए ।

‘पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको छ, अब बैंकले राम्रा नीति बनाउनुपर्छ, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउनुपर्छ, हाम्रो मुलुक आर्थिकरूपले विपन्न छ, व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको छ, व्यवसायीहरु ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस्,’ उनले भने ।

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी १७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी दिए । उक्त क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ ।

९ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महोत्सवका सहसंयोजक प्रितम खड्गीले बताए ।

Share News