
काठमाडौं । फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट –अफलाइनमार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।
उनले भनिन्, ‘यो नविनतम सोचकालागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु । डेपुटी गभर्नर ढुंगानाले भनिन्, ‘क्युआरको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पे को आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्दछु ।’
‘फोन पे को यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्यासलेस अर्थतन्त्र बनाउने अभियानलाई पनि साकार पार्न मद्दत गर्छ’, डेपुटी गभर्नर ढुंगानाले भनिन् ।
फोन पे को अफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्याउनका लागि आफ्ना ग्राहक बैंक तथा वित्तीय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नेमा आफूहरुको विश्वास रहेको फोन पे का सिईओ दिवश सापकोटाले भने ।
फोन पे ले सार्वजनिक गरेका नविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ । फोन पे ले विगत ३ बर्षदेखि डिजिकटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पे मा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरु जोडिएका छन् भने ११ लाखभन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् ।