काठमाडौं । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुबै सुरक्षित रहेको बताएको छ । शुक्रबार वायुसेवा सञ्चालक संघले काठमाडौंमा हवाई सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो ।
संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए । उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए ।
उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे ।
‘हवाई दुर्घटना जहाज मेसिन, मौसम,प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानविय गल्ति लगायतको कुनैपनि कारण हुनसक्छ, नेपालको हवाई उडान र उद्योग असुरक्षित छैन, नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी छ,’ उनले भने ।
उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्याएको बताए ।
यस्तै, थापाले हरेक विमानस्थलमा प्राधिकरणले पर्याप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाडौं भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताए । ‘काठमाडौं विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको छ तर काठमाडौं बाहिरका विमानस्थलहरुमा पार्किङकका लागि पर्याप्त पूर्वाधारहरु छैन,’ उनले भने ।
त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए । ‘नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव छ, विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको छ तर काम गर्ने जनशक्तिको अभाव भइरहेको छ,’ उनले भने ।