
काठमाडौं । नेपाल उद्योग परिसंघले हवाई भाडा कम गरेर नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउनु पर्ने बताएको छन् । शुक्रबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा भएको छलफल क्रममा परिसंघले यस्तो बताएको हो ।
परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपालको हवाई भाडा अत्यन्त महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकहरु आउन नसकिरहेको बताए । उनले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, यूरोपियन यूनियनले नेपाललाई राखेको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि आग्रह गरे ।
यस्तै, परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले नेपाल उद्योग परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आईरहेको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए ।
परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरे । उनले अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रबद्र्धन अभियान संचालन गरिनुपर्ने बताए ।
साथै परिसंघले नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यका रुपमा विकास एवं प्रवद्र्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन पाउने र लैजान पाउने व्यवस्थामा सहजिकरण गरिदिन पनि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
छलफलमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, परिसंघ पर्यटन समिति सदस्य हिक्मत सिंह ऐरलगायत थिए ।