
काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा तत्काल सवारी पार्किङको व्यवस्थापन गर्न महानगरपालिकालाई दरबारमार्ग विकास बोर्डले ताकेता गरेको छ । काठमाडौं महानगरपालिकाले दरबारमार्गको सडक पार्किङलाई हटाएपछि व्यवसायमा गिरावट आएको भन्दै चाँडो पार्किङको व्यवस्थापन गर्न विकास बोर्डले माग गरेको हो ।
विकास बोर्डले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाँडै महानगरपालिकाले उक्त क्षेत्रमा पार्किङको व्यवस्थापन नगरे दरबारमार्गका व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
यसअघि दारबारमार्ग क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउँदै ५ लेनको सडक विस्तार गरेको थियो । २/२ लेन सवारी साधन गुड्ने र १ लेन पार्किङको लागि छुट्याईएको थियो । जसले गर्दा ट्राफिक व्यवस्थपानमा समेत टेवा पुग्दै आएको थियो ।
दरबारमार्ग क्षेत्रमा केही वर्ष अगाडिसम्म सवारी पार्किङ गर्दा शुल्क तिर्नु पर्दैनथ्यो । महानगरपालिकाले स्मार्ट पार्किङको अवधारणा ल्याएपछि शुल्क उठाउन सुरु गरिएको थियो । दरबार मार्गको विकास बोर्डका निवर्तमान अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिका अनुसार प्रतिघण्टा ८० रुपैयाँको दरले पार्किङ शुल्क लिने गरेको थियो ।
‘पहिले पार्किङ शुल्क लिन पाईँदैनथ्यो, महानगरले स्मार्ट पार्किङको अवधारण ल्याएसँगै २ र ४ पाङ्ग्रे सवारीको शुल्क निर्धारण भयो, हामीले नै शुल्क बढी भयो कम गरौं भन्यौं तर, मिल्दैन भनेपछि महानगरले तोकेकै शुल्क उठाउँदै आएको थियो, अब पार्किङ निषेध गर्याे,’ उनले भने ।
अहिले दरबारमार्ग क्षेत्रमा बोर्डले पार्किङ हटाएको भन्दै कालो ब्यानर सडकमा टाँगेकोे छ । सडकको एकातर्फ पार्किङ स्थल हुुनुनर्पे उनीहरुको माग छ ।
‘दरबारमार्ग क्षेत्रको दुबैतर्फ १०/१० फिटको पैदल हिँड्ने सडक पेटी छ, कूल ७० फिटको ५ लेन सडकमध्ये एक लेन सवारी पार्किङको लागि छुट्याईएको छ, बाँकी ४ लेन सवारी आवागमनको लागि प्रयोग भइरहेको छ, ट्राफिक व्यवस्थापनमा कुनै समस्या थिएन, अहिले पार्किङ हटाउँदा ७० प्रतिशसम्म व्यवसायमा गिरावट आएको छ,’ कक्षपतिले भने ।
यसअघि दरबारमार्गमा क्षेत्रमा दैनिक १२/१५ करोडसम्मको व्यापार हुँदै आएको थियो । तर, पार्किङ हटाएपछि दैनिक २/४ करोडमा सीमित भएको उनको भनाइ छ ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १ का अधिकृत विभिषण खतिवडा सडकमा पार्किङ गर्न नपाइने व्यवस्था भएका कारण हटाउनु परेको बताउँछन् । महानगरले गरेको निर्णय कार्यान्वयन गर्ने भएकाले आफूले केही पनि गर्न नसक्ने उनको भनाइ छ ।
‘सडकमा पार्किङ गर्न पाँउदैन, सडकमा पार्किङ गर्न कुनै पनि नीति नियम बनेको छैन, त्यसैले महागनरले पार्किङ हटाउन निर्देशन दिएको हो,’ उनले भने ।
महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारमा गरिँदै आएको पार्किङ हटाएको थियो । सडकबाट पार्किङ हटाइएको भन्दै व्यवसायीले महानगरको विरोध समेत गरेका थिए ।