
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कर्जाको ब्याजदर बैंकको नियन्त्रणमा नहुने बताएका छन् । इटहरी उद्योग वाणिज्य संघको २३ औँ र २४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कर्जाको व्याजदर कुनै बैंक, वित्तीय संस्था वा नियमनकारी निकायको मात्र नियन्त्रणमा हुँदैन, यसमा विभिन्न आन्तरिक तथा बाह्य विषय वस्तुहरुको प्रभाव रहन्छ, केही समय पहिलेको २/३ प्रतिशतको निक्षेपको व्याजदर अहिले १०/११ प्रतिशत पुगेको छ, त्यसैले कर्जाको ब्याजदर स्वतः बढेको हो,’ उनले भने ।
उनले आफूलाई बैंकले दिने प्रतिफलभन्दा अन्य व्यवसायमार्फत आउने प्रतिफल बढी भएको हुँदा बैंक ब्याजदर घट्दा आफूलाई पनि राहत पुग्ने बताए ।
‘म कुनै एउटा बैंकको सञ्चालक समितिको अध्यक्ष हो तर, बैंकको सेयरको तुलनामा अन्य व्यवसायमा मेरो लगानी बढी छ, त्यसैले बैंकले दिने प्रतिफल भन्दा अन्य व्यवसायबाट आउने प्रतिफल धेरै बढी हुन्छ, ब्याजदर घट्दा मलाई पनि राहत हुन्छ,’ उनले भने ।
उनले केही व्यवसायीहरुले चुनावी एजेण्डा बनाउन खोज्दा बैंक र व्यवसायीबीचको दूरि बढेको समेत उल्लेख गरे । उनले राज्यको प्राथमिकता र आम जनतालाई सेवा पुग्ने व्यवसाय जसले नाफा सृजना गर्न सक्छ त्यस्तो व्यवसाय सधै सफल हुने बताए ।
‘मैले व्यवसाय गर्दा तीनवटा कुराहरुमा विशेष ध्यान दिने गरेको छु, पहिलो राज्यको प्राथमिकताको क्षेत्र, दोस्रो आम जनतालाई सेवा प्रदान गर्ने व्यवसाय र तेस्रो आर्थिकरुपमा सम्भावना रहेको क्षेत्र,’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको एजेण्डालाई लिएर अगाडि बढ्ने र निजी क्षेत्रका हरेक एजेण्डामा जिल्लारनगर उद्योग व्यवसायी संघहरुसँग महासंघ साथसाथै रहने प्रतिवद्धता समेत व्यक्त गरे । उनले महासंघ स्थानीय उद्यमी व्यवसायीको हितमा काम गर्न सदैव तत्पर रहेको बताए ।
‘म केही समयपछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुदैछु, म यहाँहरुसँग के प्रतिवद्धता व्यक्त गर्न चाहन्छु भने तपाईहरुले उठाउने हरेक एजेण्डामा महासंघको साथ र समर्थन रहने छ, म व्यक्तिगत रुपमा पनि तपाईहरुसँगै हुनेछु, जिल्ला÷नगरका व्यवसायी साथीहरुले कुनै पनि सम्भावित योजना ल्याउनुभयो भने त्यसलाई राष्ट्रियरअन्तर्राष्ट्रिय रुपमा अगाडि बढाउने जिम्मा हाम्रो हुनेछ,’ उनले भने ।