काठमाडौं । सरकारले मंगलबार संघीय संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
आचार्यले सामाजिक संजालमार्फत सुसाइड नोट लेख्दै विभिन्न व्यवसायीदेखि लिएर शैक्षिक संस्थाको नाम उल्लेख गर्दै आफु समस्यामा परेको बताएका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेको आचार्यले उठाएका विषयहरुको छानबिन गर्न र त्यसपछि आवश्यक कारबाही गर्ने निर्णय भएको जानकारी दिए ।
‘आत्मदाह गर्नुभएका प्रेमजीको विषयलाई लिएर हामीले उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको छ, त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्यतथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ,’ उनले भने,’उहाँले भन्नुभएको विषयहरु छानबिनका क्रममा निस्किएपश्चात् त्यसपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ, छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ,।’