
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाएका छन् ।
शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन् । उनले पूर्व प्रधानमन्त्रीहरु नै अर्बौं भ्रष्टाचारहरु सिस्टम मिलाएर गर्न लागिपरेको बताए । उनले आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको बताए ।
उनले भने, ‘आज हामीले लाख, करोड, अर्बका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौँ । यो कुरामा स्वयं प्रधानमन्त्रीहरुले नै देशको ढाकछोप गरिरहेको घटनाहरु धेरै छ । प्रधानमन्त्री, सम्बन्धित व्यक्तिहरु धेरै छन् । आफूलाई मन लागेको कानून मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेका छौँ । यसलाई ताजा जनादेशको रुपमा डिफाइन्स समेत गरिरहेका छौँ ।’
उनले संसदमा आएर कुतर्क गर्नेहरुलाई संविधानअनुसार कोचिङ क्लासको व्यवस्था गर्नुपर्ने बताए । उनले अहिले पनि नेपालको संविधान धेरै शंकटमा रहेको बताएका छन् ।
उनले अहिलेका गतिविधिहरुलाई सच्याउन नसके प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुने समेत बताए ।
‘आज पनि नेपालको संविधान बडो संकटमा छ । यदी हामीले यसलाई करेक्शन गर्न सकेनौँ भने सम्भवतः प्रतिनिधि सभा लोकतान्त्रिक गणतन्त्रउन्मुख शासन व्यवस्थाको लागि निर्माण भएको संविधान अन्तिम हुनसक्छ । आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्व प्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ, यस्ता व्यक्ति संसदमा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानूनी राज्य समाप्त हुनसक्छ ।’
सांसद चौधरीले संसदमा संविधानको कुतर्क गर्ने व्यक्ति रहेसम्म संविधान च्यातिने सम्भावना कायम रहने बताए ।