काठमाडौं । सडक विस्तारका नाममा डोजर आतंक भएको भन्दै स्थानीयले राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका छन् । निजी क्षेत्रमा निर्माण भएको संरचनामा डोजर चलेको भन्दै वडा नम्बर १३ का पीडितहरुले आक्रोश व्यक्त गर्दै प्रदर्शन गरेका हुन् ।
काठमाडौं महानगरपालिकाबाट विगतका केही समयदेखि अतिक्रमित सार्वजनिक ठाउँहरूमा रहेको संरचनाहरू भत्काउने र हटाउने गर्दै आएको छ । तर, गत पुस २८ गते दिउँसो २ बजे वडा नं ३१ शंखमूलमा एउटा परिवारको निजी जग्गामा महानगरको टोलीले डोजर चलाएको भन्दै विरोध गरेका हुन् ।
प्रचलित विधि पक्रिया समेत पालना नगरी, शक्तिको आडमा नागरिकको निजी सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेको पीडित सयलमान सिंहले बताए ।
‘यसरी सूचना नदिई नगर प्रहरी प्रमुखको अगुवाइमा भएको यस्ता घटना नेपालको संविधान, प्रचलित कानुन विपरीत मात्र होइन, नागरिकको निजी सम्पत्ति सुरक्षा दिनुपर्ने नैसर्गिक मानवअधिकारको समेत हनन् भएको छ,’ उनले भने ।
व्यक्तिको निजी जग्गा यसरी काठमाडौं महानगरपालिकाबाट जबरजस्ती कब्जा गर्ने प्रवृत्तिबाट सिंगो महानगरबासीमा आतंक छाएको उनीहरुको भनाइ छ । यस्ता गैर न्यायिक कामहरूलाई रोक्न उपयुक्त कदमहरू छिट्टै रोक्न पनि उनले विश्वास राखे ।
‘हामी पीडित छौं, घरमा हामी नभएको बेला महानगरले डोजर चलायो, डोजर चल्नु भन्दा अगाडि हामीलाई जानकारी समेत भएन, यो हाम्रो पैतृक सम्पती हो, घरमा डोजर चल्दा लाखौंको क्षति भयो,’ उनले भने ।
उनीहरुले महानगरसँग विभिन्न प्रश्नहरु राख्दै जावफ पनि मागेका छन् ।
यस्ता छन् सर्वसाधारणले जवाफ मागेका प्रश्न :
–कर चाहिँ असुल्ने निजि सम्पत्ती बिना पुर्जी बिना अधिकार गुण्डागर्दी शैलीमा डोजर आतंक गर्ने ?
–आफ्नो स्वामित्वको जग्गा ठेक्कामा दिने अनि भएको बाँकी सार्वजनिक खुल्लामञ्च हडप्न खोज्ने ?
–फोहरमैला ब्यवस्थापन कहाँ पुग्यो ?
–कम्प्लेक्सको हकमा अण्डरग्राउण्ड पार्किङ्ग अभियान कहाँ पुग्यो ?
–होडिङ्गवोर्ड हटाउने अभियान कहाँ पुग्यो ?
–आफ्नो सार्वजनिक शौचालय ब्यवस्थित नगर्ने अझ शुल्क उठाउने अर्काको निजि शौचालय सार्वजनिक गर्नु पर्ने ?
–टुकुचा बिगार्ने अनि लापर्वाही तरिकाले छोड्ने ?
–वास्तविक सुकुम्वासी ब्यवस्थापन गरी स्थानान्तरण गर्ने अभियान कहाँ पुग्यो ?
– हिँडने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षितगर्ने अभियान कहाँ पुग्यो ?
– सुन्धारामा पुरातात्विक हिटि प्रणाली बिगार्नेकम्पनिलाई कार्वाही खै ?
–सम्माननीय, माननीय भेट्न सजिलो तर महानगरकोमेयर महानगरवासीले भेट्न गाहो किन?