काठमाडौं, १६ असोज । दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौं उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ ।
विभागका प्रवक्ता वसन्त अधिकारीले सार्वजनिक रुपमा सञ्चालन हुने सवारी साधन सबै दसैँका समयमा चलाउन यातायात व्यवसायीलाई अनुरोध गरेका छौँ, ग्यारेजमा थन्किएका सवारी अझै चलेका छैनन्, उपत्यका बाहिर जाने यात्रुलाई सुविधा दिन व्यवसायीले सवारी ग्यारेजमा राख्न नहुने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको भने सवारी ग्यारेजमा थन्क्याएर नराखेको जिकिर छ । महासङ्घका महासचिव सरोज सिटौला मुग्लिन–नारायणघाट ३६ किमी सडकमा निर्माण भएकाले सवारी आउन ढिला हुने गरेको बताउछन् ।
“कलङ्कीदेखि नागढुङ्गासम्मको खाल्डाखुल्डी मात्र टालिदिने हो भने पनि सवारी आवागमनमा चार घन्टा छिटो हुने थियो”–उनले भने । धेरै यात्रुले फूलपातीपछिकै टिकट खोज्दा अभाव भएको विभागले जनाएको छ । दसैँमा घर जान चाहने यात्रु सवारीकै कारण नरोकिने गरी व्यवस्था गर्न विभागले गृहकार्य गरिरहेको प्रवक्ता अधिकारीले बताए । रासस