काठमाडौं, ११ असोज । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गैरकानुनी रुपमा भुक्तानी दिएको भनिएको मायोज चाउचाउ बीमा दाबी भुक्तानी प्रकरणको विवादमा नेपाल इन्स्योरेन्स कम्पनी पनि तानिएको छ । एभरेष्टले मायोजको फ्याकुल्टेटिभ बीमा नेपाल इन्स्योरेन्समा गरेको र एभरेष्टले मायोजलाई दिएको भुक्तानी विवादमा परेपछि रोकिएको दाबी भुक्तानी नेपाल इन्स्योरेन्सले दिएपछि विवाद पुन बल्झेको हो ।
नेपाल इन्स्योरेन्स संचालक समितिले निर्णय गरेर एभरेष्टको सो फ्याकुल्टेटिभ बीमा दाबी रोक्ने निर्णय गरेको थियो । तर पछि पुन नेपाल इन्स्योरेन्सको संचालक समितिले नै निर्णय गरेर एभरेष्टलाई १ करोड ८६ लाख रुपैयाँ भुक्तानी दिएको छ ।
यो भुक्तानी गैरकानुनी भएको र संचालक समितिले गलत मनसाय राखेर भुक्तानी दिएको भन्दै सो निर्णय विरुद्ध बीमा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दुई कम्पनीविचको कारोवार भएकोले बीमा समितिले हेर्ने नमिल्ने समितिका एक पदाधिकारीले बताए ।
‘यो विशुद्ध दुइटा कम्पनी विचको कारोवार हो, यसमा समितिले हेर्न मिल्ने देखिएको छैन, तैपनि हामीहरु थप अध्ययन गरिरहेका छौं,’ समितिका एक पदाधिकारीले भने ।
समितिले मायोज चाउचाउलाई बीमा दाबी भुक्तानी गर्दा गैरकानुनी प्रक्रिया अपनाइएको भन्दै बीमा समितिले सो कम्पनीलाई समस्याग्रस्त घोषणा गरेर ब्यवस्थापन आफैले हस्तक्षेप गरेको थियो । यस्तै सो निर्णय प्रकरणमा सहभागी भएको भन्दै एभरेष्टको संचालक समितिका तत्कालिन अध्यक्ष राजेन्द्र खेतान, प्रमुख कार्यकारी अधिकृत केबलकृष्ण श्रेष्ठ सहितका ब्यक्तिहरुलाई कारवाही गरेको थियो ।
मायोज चाउचाउ राजेन्द्र खेतान अध्यक्ष रहेको कम्पनीको उत्पादन हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रबद्र्धक सेयरमा अधिक हिस्सा खेतानकै थियो । सो चाउचाउको बनेपामा रहेको गोदाममा आगलागी भएर क्षति पुगेको भन्दै एभरेष्टले बीमा दाबी भुक्तानी गरेको थियो ।
तर मायोजको बीमा शुल्क प्राप्त नभएकोले उदारो बीमा गरिएको र त्यस्तो उधारो बीमामा दाबी भुक्तानी गर्न नमिल्ने भन्दै समितिले एभरेष्टमाथि कारवाही गरेको थियो । बीमा समितिको यस्तो कार्य लगत्तै नेपाल इन्स्योरेन्सले फ्याकुल्टेटिभ बीमाको भुक्तानी रोकेको थियो ।
तर केही समय अगाडि मात्रै नेपाल इन्स्योरेन्सको संचालक समितिले नै निर्णय गरेको सो भुक्तानी दिएको स्रोतले जानकारी दिएको छ ।