काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए ।
भेटमा अर्थमन्त्री शर्माले महामहिम राजदूत थम्प्सनमार्फत् नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे । ‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’
उनले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए । युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे । त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्दै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गरे ।
राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए । ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, उनले भने ।