डिजिटल बैंकिङको प्रयोगसँगै २२ अर्बले घट्यो चलनचल्तीका नोट, छाप्न कति लाग्छ ?

<p>काठमाडौं । तीन महिनाको अवधिमा चलनचल्तीका नोट २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा भदौमा २२ अर्ब ४ करोड ९५ लाख ५९ हजार नोट घटेको हो । गत असारमा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख नोट चलनचल्तीमा रहेकोमा भदौमा भने घटेर ५ खर्ब ९४ अर्ब ३० करोड [&hellip;]</p>

काठमाडौं । तीन महिनाको अवधिमा चलनचल्तीका नोट २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असारको तुलनामा भदौमा २२ अर्ब ४ करोड ९५ लाख ५९ हजार नोट घटेको हो ।

गत असारमा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख नोट चलनचल्तीमा रहेकोमा भदौमा भने घटेर ५ खर्ब ९४ अर्ब ३० करोड १५ लाख नोट कायम भएको हो । साउनमा ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख नोट चलनचल्तीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ प्राथमिकता दिएसँगै नोटहरु पनि प्रणालीबाट कम हुँदै गएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, वालेट लगायतको प्रयोग बढेसँगै नोटहरु पनि कम हुँदै गएको राष्ट्र बैंकको भनाइ छ । नोटको प्रयोग अझै घट्न सक्ने राष्ट्र बैंकको प्रक्ष्येपण छ । नोटको प्रयोग घटेसँगै राष्ट्रको लागत पनि कम हुँदै गएको बताइएको छ ।

राष्ट्र बैंक नोट छाप्नका लागि अख्तियारी पाएको संस्था हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको उक्त अधिकार र नोट छपाइ तथा टकमरी निर्देशिका २०६५ ले गरेको व्यवस्था वमोजिम राष्ट्र बैंकले नोट छाप्दै आएको छ । नेपालमा नोट छाप्नका लागि प्रिटिङ प्रेस नभएकाले ग्लोवल टेण्डर मार्फत छाप्ने गरिन्छ ।

राष्ट्र बैंकले नोट छाप्नका लागि महँगो शुल्क तिर्नु पर्ने अवस्था छ । राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँको नोट छाप्न १.६८ रुपैयाँ, १० रुपैयाँको छाप्न १.४० रुपैयाँ र २० रुपैयाँको छाप्न १.७३ रुपैयाँ खर्च लाग्ने गरेको छ ।

पचास रुपैयाँको एउटा नोट छाप्न २.६७ रुपैयाँ र १०० को नोट छाप्न २.९९ रुपैयाँ खर्च लाग्छ । पछिल्लो पटक राष्ट्र बैंकलाई १,००० रुपैयाँ भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । १,००० रुपैयाँको नोट छाप्न ३.३७ रुपैयाँ र ५०० रुपैयाँको एउटा नोट छाप्न ४.६८ रुपैयाँ लागत छ ।

नेपालका अधिकांश नोट चिनमा छापिन्छन् । नेपालमा चलाइने सात प्रकारका नोटमध्ये पाँच प्रकारका नोट पछिल्लो समय चीनमा छापिएका छन् । राष्ट्र बैंकले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ सुरु गरेको हो । अहिले ५० र १०० रुपैयाँ बाहेक सबै दरका नोटहरू चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ । ५० का नोट फ्रान्समा र रु १०० का नोट भने यूकेमा छापिँदै आएका छन् ।

Share News