काठमाडौं । बैंकहरुलाई दशैंसँगै पहिलो त्रैमासको चटारो थपिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास समाप्त हुने समयमै दशैं परेपछि बैंकहरुलाई दशैंसँगै पहिलो त्रैमासको चटारो पनि थप बढेको हो ।
सबै बैंकहरुलाई नयाँ आर्थिक वर्षको सुरुवातसँगै पहिलो त्रैमासलाई पनि राम्रै बनाउने प्रयास गर्छन् । सकेसम्म कर्जा असुलीमा ध्यान दिएर पहिलो त्रैमासमा बढी नै नाफा गर्ने योजना अधिकांश बैंकहरुको हुन्छ ।
तर, यही समयमा दशैं र लगत्तै तिहार परेपछि बैंकहरुलाई एक किसिमको दबाब सिर्जना भएको हो । एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार धेरै बैंकहरुले कर्मचारीलाई दशैंमा धेरै बिदा नबस्न पनि आग्रह गरिसकेका छन् । पछि ‘फोर्स लिभ’ मा बढी विदा बस्ने गरी दशैंमा धेरै विदामा नबस्न बैंकका कर्मचारीलाई आग्रह गरिरहेको बुझिएको हो ।
‘अहिले दशैं लगत्तै पहिलो त्रैमासको वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ, कात्तिक पहिलो सातातिर वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ, त्यही समयमा फेरि तिहार परेको छ, त्यसैले पनि बैंकहरुको वित्तीय विवरण प्रभावित हुने होकि भन्ने चिन्ता छ तर धेरै बैंकहरुले कर्मचारीलाई धेरै विदामा नबस्न आग्रह गरेको सुनेको छु, हामीले पनि त्यही भनेका छौं,’ ती सीईओले विकासन्युजसँग भने ।
उनका अनुसार उनीहरुको विदा मिलान हुने किसिमले दशैंमा केही सीमित दिनमात्रै विदामा बस्ने किसिमले काम भइरहेको छ । नेपाल राष्ट्र बैंकले दशैंमा ६ दिन मात्रै बिदा निर्धारण गरेको छ । असोज १६ गतेदेखि असोज २१ दिनसम्म दशैंको विदा दिइएको छ । यस्तै, तिहारमा पाँच दिन विदा दिइएको छ । दशैं र तिहारमा बैंकर्सले ११ दिन विदा पाउनेछन् । तर, बैंकहरुले ११ दिन पनि घर नबस्न कर्मचारीहरुलाई आग्रह गरिरहेका छन् ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल यस पटक दशैं पहिलो त्रैमासको क्लोजिङमै परेको कारणले पनि बैंकहरुलाई एक किसिमको दबाब रहेको बताउँछन् । उनले विदा पनि धेरै भएकोले क्लोजिङ गर्न केही दबाब हुने धारणा राखे ।
‘बैंकहरुले कर्मचारीलाई धेरै विदामा नबस्न भन्नु अहिले स्वभाविक हो, क्लोजिङकै समय परेकोले रिकभरीमा समय दिनु पर्ने हुन्छ, वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ, त्यस कारणले पनि कर्मचारीहरुलाई आग्रह गरेका हुन्,’ उनले भने ।