काठमाडौं । नेपाल सरकार अन्तर्गत विभिन्न सेवामा जागिर खाने कर्मचारीहरुले वर्षको १ पटक चाडपर्व खर्च पाउने गर्छन् । यस्तो चाडपर्व खर्च नेपाल सरकारको राज्यकोषमार्फत पारिश्रमिक बुझ्ने शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, जनपथ प्रहरी, ससस्त्र प्रहरी, जनस्वास्थ्य, विभिन्न संस्थान, बोर्ड र समिति लगायत कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले पाउँछन् । कार्यरत कर्मचारी मात्रै नभएर जागिरबाट अवकाश भएर पेन्सन बुझ्दै आएका व्यक्तिहरुलाई पनि सरकारले चाडपर्व खर्च दिने गरेको छ ।
कर्मचारीहरुले प्राप्त गर्ने दशैंभत्ता बापत उनीहरुले बुझ्दै आएको मासिक तलब र ग्रेड अनुसार थप हुन आउने एकमुस्ट बापतको रकम प्राप्त गर्दछन् । कर्मचारीहरुले मासिक रुपमा तलब बुझ्दा सञ्चय कोष, बीमा र लगानी बोर्डमा जम्मा गर्नुपर्ने कट्टी गरेर हुन आएको रकम बुझ्छन । तर, दशैंमा प्राप्त गर्ने चाडपर्व खर्चमा भने सरकारले कर बाहेक कुनै शिर्षकमा रकम कट्टी नगरी उपलब्ध गराउने गर्दछ ।
सरकारी कर्मचारीहरुले यसरी राज्यकोषबाट वर्षको एकपटक प्राप्त गर्ने चाडपर्व खर्च उनीहरुको पदीय जिम्मेवारी अनुसार कायम भएको तलब र निर्धारण गरिएको ग्रेड अनुसार फरक–फरक हुन्छ ।
चालु आर्थिक वर्ष ०७९/८० मा मुख्य सचिवको लागि सरकारले ७७,२११ रुपैयाँ शुरु तलब स्केल कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । मुख्य सचिवको प्रतिग्रेड २५७४ रुपैयाँ कायम गरिएको छ । जसअनुसार मुख्यसचिवले दशैंमा शुरुको तलबमा उनको कायम भएको ग्रेडअनुसार हुन आउने रकम जोडेर चाडपर्व खर्च प्राप्त गर्छन् ।
त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा कार्यालय सहयोगी प्रथम स्तरको लागि शुरु तलब स्केल २४,७०२ रुपैयाँ कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । कार्यालय सहयोगी प्रथमस्तरको प्रतिग्रेड ८२३ रुपैयाँ व्यवस्था गरेको छ । जसअनुसार अहिलेको दशैंमा कार्यालय सहयोगी प्रथम स्तरमा कार्यरत कर्मचारीले चाडपर्व खर्च स्वरुप शुरु तलब स्केल २४,७०२ मा थपिन आउने ग्रेड बराबरको रकम प्राप्त गर्छन् ।
सरकारले कर्मचारीहरुको विभिन्न तहअनुसार ग्रेडको व्यवस्था गरेको छ । सोही अनुसार नै उनीहरुको पारिश्रमिक सुविधा निर्धारण हुने गर्दछ । कर्मचारी कुनै तहमा नियुक्ति भएपछि पहिलो एकवर्ष सम्म उसको तलबमा ग्रेड नजोडिने व्यवस्था रहेको छ । जसअनुसार कुनै तहको सेवामा प्रवेश गरेको कर्मचारीको यो दशैंमा एक वर्ष समय पूरा भएको छैन भने उसले आफुले बुझ्दै आएको शुरु तलब स्केल बराबर मात्रै चाडपर्व खर्च प्राप्त गर्छ ।
सरकारले करारमा नियुक्ति भएका कर्मचारीहरुलाई पनि वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने गरेको छ । करारमा काम गरेका कर्मचारीहरुलाई ग्रेडको व्यवस्था नहुने भएकाले उनीहरुले भने मासिक रुपमा प्राप्त गर्दै आएको तलब अनुसार नै चाडपर्व खर्च प्राप्त गर्छन् ।कुनै कार्यालयमा काम सुरु गरेको ६ महिना अवधि पुगेको छ भने उसले यो सुविधा प्राप्त गर्ने नियममा उल्लेख छ।