काठमाडौं । काठमाडौं महानगरपालिकालाई ५ वटा क्यासिनोले मनोरञ्जन कर बुझाएका छन् । महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ताकेता गरेपछि पाँच वटा क्यासिनोहरुले महानगरपालिलाई कुल ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ कर बुझाएका हुन् ।
काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालित ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न भदौ १९ गते पत्र पठाएको थियो । महानगरपालिका अनुसार म्यारियट होटलमा रहेको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, अन्नपुर्ण होटलमा रहेको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार ४ सय ६३ रुपैयाँ मनोरञ्जन कर बुझाएका छन् ।
यस्तै, हायात होटलमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसनले ९ लाख ८९ हजार ४ सय ६०, होटल सोल्टीमा रहेको माजोङ्ग इन्टरटेनमेन्टले ९ लाख ९३ हजार ६ सय र होटल एलफ्टमा रहेको बाल्को क्यासिनोले १३ लाख ८८ हजार ३ सय ६३ रुपैयाँ मनोरञ्जन कर तिरेका महानगरले जनाको छ ।
मल्ल होटलमा रहेको बेली क्यासिनो, र्याडिसन होटलमा रहेको क्यासिनो र्याट र र्याडीसन होटल–२ क्यासीनो र्याटले कर बुझाउन अटेर गरको महानगरपालिकाले जानकारी दिएको छ । यस्तै, काठमाडौं फनपार्कले पनि पनि महानगरलाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महानगरले क्यासिनो र फनपार्कसहित कुल ८४ लाख ३४ हजार रुपैयाँ मनोरञ्जन कर असुलेको छ ।
