काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सेवालाई ब्यापक गर्न ग्राहकका लागि थुप्रै योजनाहरु सञ्चालनमा ल्याउँछन् । बैंकमा जति सक्दो बढी निक्षेप भित्र्याएर बढीभन्दा बढी कर्जा लगानी गरी बिजनेसलाई आक्रामक गर्ने रणनीति जुनसुकै बैंकको पनि हुन्छ । यही रणनीतिलाई आत्मसात गर्दै बैंकहरुले अनेकन किसिमका बचत खाता ल्याउँछन् । तर, ती बचत खातामा अपेक्षा गरिए अनुसारको निक्षेप आउने या नआउनेमा भने बैंकर्स नै ढुक्क बन्न सक्दैनन् ।
कुनै समय एउटै बैंकले ८० प्रकारका बचत खाता ल्याएका उदाहरण पनि छन् । तर, जति किसिमका बचत खाता ल्याएपनि निक्षेप नबढ्ने देखेपछि बैंकहरुले त्यसलाई घटाउँदै गएका छन् । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुमा न्यूनतम १५ देखि अधिकतम् ५२ वटासम्म बचत खाता सञ्चालनमा छन् ।
विभिन्न प्रकारका खाता सञ्चालन गरेर निक्षेप भित्र्याउने र ग्राहकलाई राम्रो सुविधा दिने उद्देश्य भएपनि हाल यस्ता बचत खातामा निक्षेप नआउने गरेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले विभिन्न उमेर समूह तथा वर्गलाई लक्षित गरेर यस्ता बचत खाता ल्याएका भएपनि त्यसबाट खासै निक्षेप नआएपछि बैंकहरुले बचत खाता घटाउँदै लिएको बुझिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले बालबालिकादेखि जेष्ठ नागरिक, घरदैलो बचत, कर्मचारी, नारी, गोल्डेन बचत खातादेखि विद्यार्थी बचत खाता लगायतका थुप्रै किसिमका खाता सञ्चालन गरिरहेका छन् । थुप्रै बचत खाता सञ्चालन गरेपनि निक्षेप संकलन भने खासै नभएको बैंकर्सहरुको धारणा छ ।
तर, उच्च ब्याजदर भएका खातामा अर्गानिक निक्षेप बैंकिङ्ग प्रणालीमा आएपनि अन्य खातामा भने खासै निक्षेप नआउने गरेको उनीहरुको भनाइ छ । हाल बैंकहरुले बचत खातामा अधिकतम ८.०३ प्रतिशतसम्मब्याजदर दिइरहेका छन् ।
सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्द ब्याजदर उच्च भएका बचत खातामा निक्षेप आएपनि अन्य खातामा भने निक्षेप कम भइरहेको बताउँछन् । उच्च ब्याजदर भएको खातामा एकै पटक धेरै निक्षेप नआएपनि अर्गानिक निक्षेप आइरहेको उनको भनाइ छ । लक्षित समूहलाई लक्षित गरेको खातामा ग्राहकको आकर्षण बढ्दो रहेको उनले बताए ।
‘उच्च ब्याजदर भएको खातामा बढी रकम आएको देखिन्छ, बढी ब्याज पाउन पुरानो खाता बन्द गरी नयाँ खाता खोल्ने प्रवृत्ति पनि हुन्छ तर त्यो रकम बढी ब्याज भएको खातामा मात्रै आउने हो,’उनले भने, ‘बचत खातामा अर्गानिक वृद्धि हुन्छ किनभने एकचोटी बचत खाता खोलिसकेपछि एउटा बैंकमा दुइवटा खाता खोल्न पाउँदैन, एउटै खाता भएपछि त्यो बैंकको खातामा कारोबार गरिहाल्छन् ।’ उनका अनुसार सानिमा बैंकमा महिलालाई लक्षित गरी ल्याएको खातामा आकर्षण बढ्दो छ ।
‘खाताको विशेषता राम्रो भएकोमा आकर्षण बढी हुन्छ, सानिमा बैंकमा पनि महिलालाई टार्गेट गरेर ल्याएको नारी बचत खातामा बढी निक्षेप आउने गरेको छ, उच्च ब्याजदर, स्पेसिफिक स्किम, विशेष छुटको व्यवस्था भएको खातामा राम्रो निक्षेप आउने गरेको छ,’ उनले भने ।
यस्तै, गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द प्रसाद ढकाल बचत खाताको प्रकृतिको आधारमा निक्षेप नआएको बताउँछन् । विभिन्न समूहलाइ लक्षित गरी ल्याएका खाताले गाउँघरमा रहेको निक्षेप ल्याउन भूमिका खेल्ने उनको तर्क छ । तरलताको अभावका कारण बचत खातामा निक्षेप नआएको हुन सक्ने उनले बताए ।
‘धेरै प्रकारका खाता सञ्चालनमा छन् तर त्यो हिसावमा निक्षेप आएको छैन, बचत खातामा निक्षेप खासै वृद्धि हुन सकिरहेको छैन, विभिन्न समूहलाई टार्गेट गरेर खाता सञ्चालनमा ल्याएपनि आकर्षण छैन,’ उनले भने, ‘गाउँघरमा रकम राखिएको हुन्छ, आकर्षित भएर आउँछन की भनेर विभिन्न प्रकारका खाता ल्याइएका हुन्, बैंकिङ्ग प्रणालीमा रकम ल्याउन विभिन्न प्रकारका खाता विकास गरिन्छन्, तरलता अभावका कारण निक्षेप नआएको होकी भन्ने महसुस भएको छ ।’
बचत खाताका प्रकारलाई सामाजिक सञ्जालमार्फत् पनि प्रचार–प्रसार गरेर लक्षित समूहमा पुर्याउन सकिने उनको भनाइ छ । गरिमा विकास बैंकका विभिन्न बचत खाताहरु मध्ये मेरो सेयर बचत खातामा ब्याजदर बढी भएका कारण बढी निक्षेप आएको उनले बताए । ब्याजदर बढी भएको खातामा ग्राहकको आकर्षण बढ्दो रहेको उनको बुझाइ छ ।
एनएमबि बैंकका डेपुटी सीईओ सुदेश उपाध्यायले बजारको माग अनुसार फरक–फरक किसिमका खाता बैंकहरुले ल्याउने गरेको बताए । बैंकहरुले ल्याएका बचत खाता धेरै भएमा केही समयपछि त्यसलाई मर्जर गराउने अभ्यास पनि रहेको उनको भनाइ छ । हाल यस्ता खातामा खासै निक्षेप नआएपनि दशैं तिहारको समयमा निक्षेप बढ्ने अपेक्षा उनको छ ।
‘बजारको माग अनुसार फरक ब्याज र फरक सुविधा भएका नयाँ प्रडक्ट आउँछन्, जसलाई बचत खातामा नै गणना गरिन्छन्, एउटा तहमा पुगेपछि बैंकहरुले त्यो खातालाई मर्जर गरेर घटाउने गरेको हुन्छ,’ उनले भने, ‘बैंकको बचत खातामा निक्षेप कम आएको छ, दशैंमा रेमिट्यान्स र कर्मचारीको पनि बोनस आउँछ, सरकारको सिस्टमबाट रकम बाहिर आउँछ, अनि निक्षेप बढ्न सक्छ ।’
निक्षेप संकलनमा बचत खाताको भूमिका महत्वपूर्ण हुने गरेको उनको भनाइ छ । विभिन्न माध्यमबाट बचत खाताको बारेमा जानकारी गराएर गाउँघरमा रहेको रकमलाई बैंकिङ्ग प्रणालीमा ल्याउन सकिने उनको धारणा छ ।
‘बचत खाताले निक्षेप ल्याउन भूमिका खेलेको हुन्छ, यस्ता खातामा बढी ब्याज, सुविधा दिएर र डिजिटल माध्यमबाट ग्राहकको घरमा रहेको रकमलाई आकर्षण गर्न सकिन्छ,’ डीसीईओ उपाध्यायले भने ।
एनएमबि बैंकको सबै बचत खातामा रकम आउने गरेको उनले बताए । सर्वसाधारणदेखि जेष्ठ नागरिकलगायत सबै प्रकारका खाता एनएमबि बैंकले छुट्टा छुट्टै सञ्चालन गरिरहेको छ तर सबै खातामा समान रकम नभएर कुनै खातामा बढी र कुनै खातामा कम निक्षेप आउने गरेको उनको भनाइ छ ।
उनका अनुसार एनएमबि सहारा बचत खातामा राम्रो निक्षेप संकलन भएको छ । तर कुनै समय कुनै बचत खातामा धेरै निक्षेप र कुनै समय अर्कै खातामा बढी निक्षेप आउने गरेको उनले बताए ।
नबिल बैंकका डीसीईओ मनोज ज्ञवालीले ब्याजदर बढ्दा फिक्स्ड डिपोजिटमा बढी निक्षेप रुपान्तरण हुने गरेको बताए । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुको ४३ अर्ब रुपैयाँ घटेको बताउँदै उनले निक्षेप घट्दा बचतको निक्षेप पनि स्वतः घट्ने गरेको बताए ।
‘ब्याजदर बढ्दा मुद्दती निक्षेप (एफडी) मा सानो रकम पनि रुपमान्तरण हुन्छ, ब्याजदर बढ्दा बचत निक्षेप घट्दै एफडीमा बढ्दै जाने हुन्छ, अहिलेको अवस्था हेर्ने हो भने असार मसान्तसम्मको तथ्याङ्क अनुसार ४३ अर्ब रुपैयाँ निक्षेप घटिसकेको छ, यो रकम घट्नु भनेको सबै खातामा निक्षेप घट्नु हो,’ उनले भने ।
बैंकहरुले सञ्चालन गरेका बचत खातामा ४/५ अर्ब रकम निक्षेप जम्मा भएपछि ब्याजदर घटाउने गरेको डीसीईओ ज्ञवाली बताउँछन् । तर,अहिले भने त्यस्तो अवस्था छैन ।
‘पहिला–पहिला बैंकहरुले कुनै योजना ल्याउँथे, जसमा ४/५ अर्ब निक्षेप जम्मा भयो भने त्यसको ब्याजदर घटाएर तल राख्ने फेरि अर्काे ल्याउने गरेका थिए, डिपोजिटको संरचना राखेर अलिकति सरल बनाएर अर्काे कुनै योजना थपेर ल्याउँथे, त्यो खातामा समेत निक्षेप जम्मा गर्ने काम गर्थे, त्यो बेलामा इथिकल बैंकिङ्गको अभ्यास भएको थिएन,’ उनले भने ‘कतिपयले खाता नै परिवर्तन गर्थे, जान्ने मान्छेले बढी ब्याज पाउँथे नजान्ने ठगिन्थे,राष्ट्र बैंकले पनि कुनै बचत खातामा ब्याजदर निर्धारण गर्दा एकनाश ब्याजदर थपघट गर्न सर्कुलेसन जारी गर्याे, जसले गर्दा अहिले सहज भएको छ ।’
धेरै किसिमका बचत खाता हुँदा फरक ब्याजदरमा बैंकहरुले ग्राहकलाई खेलाउने गरेको भएपनि राष्ट्र बैंकले ल्याएको सर्कुलरले एकनास भइरहेको उनको धारणा छ । नबिल बैंकले जेन खाता लगायतका थुप्रै बचत खाता सञ्चालन गरिरहेको छ । सबैभन्दा बढी निक्षेप जेन खातामा आएको उनको भनाइ छ । नबिल बैंकले ब्याजदरलाई मात्रै फिक्स गरेर नयाँ बचत खातालाई बढी जोड नदिएको उनको भनाइ छ ।
‘नबिल बैंकले नेक्स्ट जेनेरेशनका लागि ल्याएको बचत खातामा राम्रो निक्षेप संकलन भयो तर नबिल बैंकले ल्याएका बचत खाताहरु ब्याजदरलाई मात्रै फिक्स गरेर फोकस गरिएको छैन, नबिलले भइरहेका प्रडक्टलाई नै बढी प्रमोट गरेको हुँदा सबैमा निक्षेप एकनास छ, कुनै एउटा प्रडक्ट गज्जब भएर अर्काे नभएको भन्ने छैन,’ डीसीईओ ज्ञवालीले भने ।