काठमाडौं । नेपालको बजारमा कार्यालय तथा घरमा चाहिने आकर्षक फिनिसिङ भएका प्लाइउडका फर्निचरमा अहिले पनि चिनियाँ उत्पादनको प्रभुत्व रहँदै आएको छ । विशेषगरी कार्यालय टेबल, कम्प्युटर टेबल, मिटिङ टेबल र स्टेशनरी दराज लगायतका फर्निचर आइटमहरुमा चिनियाँ उत्पादनहरु बजारमा प्रशस्त पाइने गरेको देखिन्छ ।
उपभोक्ताहरुमा गुणस्तरीय फिनिसिङ भएका फर्निचरहरुको माग बढ्दै गएको तर त्यसको पूर्ति विदेशी सामाग्रीहरुबाट मात्रै भएको महशुस गरेपछि आशिष पराजुली र खगेन्द्र खरेलले सहकार्य गरेर झापाको भद्रपुरमा केकेएफ उद्योग सञ्चालनमा ल्याएका छन । ०७६ सालमा नै सञ्चालनमा आएको भएपनि कोभिड महामारीको कारण व्यवसाय विस्तार गर्न नसकेको सो उद्योगले ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ मार्फत आफ्नो उत्पादनलाई बजारमा लञ्च गरेको छ ।

आधुनिक फर्निचर उत्पादनका लागि उद्योगले जर्मन र चीनबाट अत्याधुनिक प्रकारका ६ वटा मेसिन जडान गरेको छ । ३० हजार स्क्वायर फिट क्षेत्रफलमा स्थापना भएको उद्योगमा ६ दर्जन भन्दा धेरै जना कामदारहरुले काम गरिरहेको मिस्टिक फर्निचरका प्रोपाइटर आशिष पराजुलीले बताए । आफूहरुले लामो सययदेखि प्लाइउड तथा काठबाट बनेको फर्निचर व्यवसायको क्षेत्रमा काम गर्दै आएको र नेपालमा नयाँ प्रकारका फर्निचरहरुको माग बढेको देखेपछि आफूहरुले सो क्षेत्रमा लगानी गरेको उनको भनाइ छ । मिस्टिकको उत्पादनले चिनियाँ फर्निचरको आयातलाई घटाउने, नेपालमा नै केही मानिसहरुलाई रोजगार प्रदान गर्ने र फर्निचरको क्षेत्रमा वैदेशिक आयातलाई घटाउने पराजुलीले बताए ।
मिस्टिकले फर्निचर एक्स्पोसम्म आइपुग्दा कार्यालयको लागि चाहिने टेबुल, र्याक र दराजका विशेष आइटमहरु निर्माण गरेर ब्राण्डिङ गरिरहेको छ । आगामी ३ महिनाभित्रमा होम डेकोरेसनसँग सम्बन्धित फर्निचरहरुपनि बजारमा ल्याउने तयारी गरेको पराजुलीले बताए ।
फर्निचर उत्पादन गर्दा झण्डै सतप्रतिशत सामग्री आयातित गर्नुपर्ने अवस्था रहेको तर सरकारले रेडिमेड सामग्रीमा लगाएको उच्च भन्सारदरका कारण आफूहरुको उत्पादन लागत कम भएको उनको भनाइ छ । ८ करोड भन्दा धेरै लगानी रहेको फर्निचर उद्योग अल्पकालिन फिनिसिङ भएका फर्निचरहरुमा पहिलो भएको हुनसक्ने पराजुलीले बताए । मूल्य, गुणस्तर र बनावटका कारण धेरै नेपालीहरुले मिस्टिकको फर्निचरलाई मन पराएका छन् ।
नेपालमा फर्निचरको आयातलाई निरुत्साहन गर्दै व्यवसायलाई् स्थापित गर्ने उद्देश्यकासाथ आफूहरुले सो उद्योगको स्थापना गरेको भन्दै पराजुलीले नेपालमा नै उत्पादनको सम्भव भएका कच्चा पदार्थहरु समेत स्वदेशमा नै उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
उनका अनुसार बजारमा देखिएको आवश्यकता र रेडिमेड फर्निचरको आयातमा भएको भन्सार व्यवस्थाका कारणले नेपालमा आधुनिक फिनिसिङ फर्निचर उद्यम क्षेत्रको विकासको सम्भावना राम्रो देखिएको छ । उद्योगले अहिले दैनिक १ सय वटा टेवल उत्पादन गर्ने क्षमता राखेकोमा आगामी दिनमा त्यसलाई थप विस्तार गर्ने योजनामा आफूहरु जुटेको उनले बताए । एक्स्पोमा आएका भिजिटरहरुले चिनियाँ फर्निचरहरुको तुलनामा मिस्टिकका फर्निचर मन पराएको प्रतिक्रिया आफूलाई दिएको पराजुलीले विकासन्युजलाई बताए । आगामी दिनमा पूर्वदेखि पश्चिमसम्म खुद्रा बिक्रीकर्ताहरु विस्तार गरेर व्यवसायको व्यापक विकास गर्ने दिशामा आफूहरु जुटेको पराजुलीको भनाइ छ ।
त्यस्तै, विष्णुहरी लामिछानेले २ दशक भन्दा लामो समयदेखि फर्निसिङ उत्पादन गर्ने क्षेत्रमा काम गर्दै आएका छन् । पछिल्लो १ दशकदेखि यता विष्णुहरी लामिछानेले एकजना आफन्तसँग मिलेर आर.ओ.के. प्रोडक्ट उद्योग प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका छन् । लामिछाने म्यानेजिङ डाइरेक्टर रहेको सो उद्योगले न्यून क्लासको साधारण म्याट्रेसदेखि उच्चस्तरीय लक्जरी म्याट्रेस उत्पादन गर्दै आएको छ ।
दैनिक रुपमा सयौं म्याट्रेस उत्पादन गरेर आर.ओ.के. उद्योगले साधारण पसलदेखि फाइभ स्टार होटलसम्मलाई विभिन्न प्रकारका म्याट्रेसको आपूर्ति गर्दै आएको छ । उद्योगले पछिल्लो समय तिव्र गतिमा विकास गरिरहेको र निरन्तर रुपमा नयाँ–नयाँ उत्पादन ल्याइरहेको लामिछानेको भनाइ छ ।

आर्थिक वर्ष ०७८/७९ मा आर.ओ.के. उद्योगले २४ करोड बराबरको म्याट्रेस उत्पादन गरेको थियो । विदेशी बहुराष्ट्रिय कम्पनीहरुसँग साना लगानी रहेक उद्यमीहरुले पनि प्रतिस्पर्धा गरेर नेपाली बजारमा ठूलो हिस्सा लिन सफल भएको उद्योगी लामिछानेको भनाइ छ । अहिले नेपाल म्याट्रेसमा ८० प्रतिशत भन्दा धेरै स्वदेशी उत्पादबाट आत्मनिर्भर रहेको अवस्था छ ।
नेपाल फर्निचर तथा फर्निसिङ एशोसियसनको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा भइरहेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ सम्म आइपुग्दा नेपालमा नेपालमा म्याट्रेस उत्पादनमा आधा दर्जन मात्रै ठूला स्तरका कम्पनीहरु रहेका छन् । आर.ओ.के. उद्योगले पछिल्लो समय नयाँ प्रविधिमा आधारित मेशिनहरु थपेको छ । आफ्नो कम्पनीले लक्जरियस अन्तर्गत नयाँ प्रोडक्टको पनि लञ्च गरेको उद्योगी लामिछानेले बताए ।
म्याट्रेसको उत्पादनमा झण्डै शतप्रतिशत कच्चापदार्थहरु विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको र त्यसमा सरकारले विभेदकारी नीति लिएको उनको भनाइ छ । लामिछानेका अनुसार सरकारले उद्यममैत्री नीति लिएमा आगामी दिनमा नेपाल म्याट्रेस उत्पादनमा आत्मनिर्भर बन्न सक्छ । तर, सरकारले रेडिमेड म्याट्रेसको आयातमा भन्दा कच्चा पदार्थको आयातमा भन्सार बढी बुझाउनुपर्ने व्यवस्था रहेको छ । जसकारणले गुणस्तरमा समान भएपनि विदेशबाट आयातित बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित म्याट्रेसहरुमा मूल्य प्रतिस्पर्धामा कठिनाइ भएको उनले बताए ।
आर.ओ.के. उद्योगले ८० जना भन्दा धेरै कामदारहरुलाई काम दिएको छ । विदेशी कम्पनीहरुले प्रयोग गर्ने स्तरको प्रविधिको प्रयोग गर्दा उत्पादनको गुणस्तरमा पनि समस्या नभएको उनको भनाइ छ । साथै नेपाली उद्योगहरुले उत्पादन गरेको म्याट्रेसमा वारेन्टी तथा ग्यारेन्टी कार्यान्वयन गर्न पनि सहज भएको लामिछानेले बताए । नेपाल सरकारले उद्योगमैत्री नीति लिएमा भविष्यमा नेपाल सजिलै म्याट्रेसमा आत्मनिर्भर बन्न सक्ने र नेपालबाट म्याट्रेस आयातमार्फत विदेशिने ठूलो धनराशी बच्न सक्ने उनको भनाइ छ ।