फुटपाथ खोइ ? विद्युत प्राधिकरणले खायो

<p>काठमाडौं । काठमाडौं घट्टेकुलोमा बस्दै आएका कमल अधिकारी दिनहुँ धोबिखोला कोरिडोरमा बेलुका पैदल यात्रामा निस्कछन् । घरबाट निस्केर उनी बेलुका अनामनगरको भाटभटेनीमा पुगी आवश्यक सामान खरिद गरेर घर फर्किन्छन् । तर, पैदल यात्रामा भोग्नु परेका समस्याले उनलाई बिरक्त बनाउँछ । पैदल यात्रीका लागि भनेर बनाइएका फुटपाथ हिड्नै नसक्ने भएपछि उनी आक्रोश व्यक्त गर्छन् । हिँड्दै [&hellip;]</p>

काठमाडौं । काठमाडौं घट्टेकुलोमा बस्दै आएका कमल अधिकारी दिनहुँ धोबिखोला कोरिडोरमा बेलुका पैदल यात्रामा निस्कछन् । घरबाट निस्केर उनी बेलुका अनामनगरको भाटभटेनीमा पुगी आवश्यक सामान खरिद गरेर घर फर्किन्छन् । तर, पैदल यात्रामा भोग्नु परेका समस्याले उनलाई बिरक्त बनाउँछ ।

पैदल यात्रीका लागि भनेर बनाइएका फुटपाथ हिड्नै नसक्ने भएपछि उनी आक्रोश व्यक्त गर्छन् । हिँड्दै अनामनगरको भाटभटेनीसम्मको यात्रा तय गरेका अधिकारी गाडी जाममा परेको जस्तो फुटपाथमा हिडेका मान्छे जाममा पर्नु परेको गुनासो गर्छन् । सेतोपुलदेखि अनामनगरको भाटभटेनी करिडोरसम्मको फटुपाथमा बाटो नै बन्द हुने किसिमले राखिएका बिजुलीका क्याबिनेटले समस्या दिने गरेको उनको भनाइ छ ।

कोरिडोरको छेउमा बनाइएको साँघुरो फुटपाथमा प्राधिकरणले क्याबिनेट बक्स राख्दा पैदलयात्रीलाई समस्या हुने गरेको छ ।

‘साँघुरो फुटपाथ छ, त्यही माथि फुटपाथमा क्याबिनेट बक्सको अवरोध, ओहोर दोहरो गर्नुपर्यो भने पनि पर्खेर जानु पर्ने बाध्यता छ, फुटपाथबाट सडकमा झरेर पुनः फुटपाथमा उक्लिनु पर्ने बाध्यता छ,’ उनले भने ।

बिजुलीको तार भूमिगत गर्दा प्राधिकरणले ठाउँ ठाउँमा बिजुलीको लाइन वितरण गर्न राखेका बक्स अहिले धोबिखोला मात्रै हैन, काठमाडौंका अधिकांश ठाउँका फुटपाथमा क्याबिनेट बक्स छन् । यसले पैदलयात्रीलाई धेरै ठूलो समस्या दिने गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले नै यसरी फुटपाथ नै कब्जा गरेर उक्त बक्स राख्नु आफैमा दुःखको विषय भएको उनीहरु बताउँछन् । फुटपाथ नै अवरुद्द हुने किसिमले राखिएका बक्सले यात्रुलाई पेटीबाट सडकतिर धकेलिरहेको पैदलयात्रीको गुनासो छ । एक जना मान्छे पनि फुटपाथमा राम्रोसँग हिँड्न नसक्ने उनको भनाइ छ । फुटपाथमा बिजुलीको बक्सले अवरोध ज्यान जोखिममा राखेर सडकमा हिँड्नु परेको गुनासो अधिकारी गर्छन् ।

यस्तै, स्थानीय रञ्जन गुरुङले पनि फुटपाथमा बिजुलीको क्याबिनेट बक्स राख्दा समस्या भएको बताए । गुरुङले फुटपाथमा रहेको बिजुली बक्सले ज्यान लिने खतरा हुने डर पैदल यात्रीमा हुने गरेको बताए । ‘खतरामुक्त फुटपाथमा हिँड्न पाउनुपर्याे, सहज यात्रा गर्न पाउनु हाम्रो अधिकार हो, बिजुलीका बक्सहरू प्राधिकरणले व्यवस्थित गरिदिन्छ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

काठमाडौंका फुटपाथमा हिँड्ने अधिकांशलाई अहिले क्याबिनेट बक्स समस्या बनेको छ । बक्सले बाटो छेकेपछि फुटपाथमा हिँड्ने मान्छे सडकमा झर्दा दुर्घटनाको जोखिम पनि बढेको छ । केही स्थानमा सानो ठाउँ छोडिएता पनि अधिकांश बक्स राखिएको फुटपाथ नै अवरुद्द गरेका छन् ।

कतिपय ठाउँमा यात्रुलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने बाध्यता छ । प्राधिकरणले भूमिगत तारको विस्तार गर्ने भनेर काम अगाडि बढाएको थियो । तारको व्यवस्थापन हुन नसक्दा अहिले सडकको छेउमा नै अव्यवस्थित खुल्ला तार पनि छरपष्ट अवस्थामा छन् ।

अब छिट्टै हटाउँछौं : प्राधिकरण

नेपाल विद्युत प्राधिरणले क्याविनेट राख्दा ढंग नपुगेकोले अब छिट्टै हटाउने प्रतिबद्धता गरेको छ । काठमाडौंका विभिन्न ठाउँमा राखेका बिजुलीका बक्स हटाउनका लागि तयारी भइरहेको प्राधिकरणको भनाइ छ ।

यस विषयमा काठमाडौं महानगरले पनि चासो देखाएको छ । प्राधिकरणले महानगरसँग पनि हटाउने बताइसकेको छ । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईल अहिले रहेको ठाउँबाट हटाएर पोलमा बक्स राख्ने विषयमा तयारी भइरहेको बताए । महानगरले पनि पोललाई पनि अन्डरग्राउण्ड गर्न भनेको छ । तर, महानगरले पोलमाथि राख्ने बताइसकेको छ ।

अहिले प्राधिकरणले विभिन्न ठाउँमा तार भूमिगत गर्ने काम गरिरहेको छ । त्यसका लागि क्याबिनेट बक्स पनि राखिरहेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले परामर्शदाता र ठेकदार कम्पनीले अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि–डिजाइन गरिसकेको बताएको छ । प्राधिकरणका अनुसार हाल काठमाडौं उपत्यकामा ३ हजार ७ सय बिजुलीका बक्स जडान गरिएका छन् ।

Share News