काठमाडौं । अहिले बैंकसँगै सहकारी क्षेत्रमा पनि तरलताको समस्या भएपछि सहकारी संस्थाहरुलाई बचतकर्ताको रकम फिर्ता दिन पनि सकस भएको बुझिएको छ । वाणिज्य बैंकहरुले आकर्षक स्कीम ल्याउँदा सहकारीका सदस्यहरुले ती स्कीममा पैसा राख्नका लागि पनि सहकारीबाट पैसा फिर्ता लिइरहेका छन् । यसले पनि सहकारीमा थप तरलताको दबाब परेको छ भने अहिले कतिपय सहकारी संस्थाहरुलाई बचत फिर्ता गर्न नै सकस परेको बुझिएको हो ।
अहिले अधिकांश सहकारीहरुले बचतकर्तालाई निश्चित समय दिएर रकम लिनका लागि अनुरोध गरिरहेको बुझिएको छ । स्रोतका अनुसार अहिले काठमाडौंका अधिकांश ठूला सहकारीहरुले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । त्यसैले पनि बचतकर्तालाई केही निश्चित समय दिएर बचत फिर्ता दिने ‘डेडलाइन’ सहकारीहरुले तोकिरहेको स्रोतको दाबी छ ।
एक महिना अगाडि मात्रै राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय संघ लगायतका सहकारीहरुका छाता संस्थाहरुले तरलताको समस्या देखिएपछि सहकारी संस्थाहरुलाई एक पटकमा ५ प्रतिशत मात्रै रकम फिर्ता गर्न निर्देशन दिएको थियो । सो निर्देशनले पनि सदस्यहरुलाई एक किसिमको त्रास सिर्जना गरेको बुझाइ धेरैको । त्यसपछि निरन्तर सहकारीबाट पैसा बाहिरिरहेको जानकारहरु बताउँछन् ।
सहकारीमा राखेको बचत सबै सदस्यले एकैपटक फिर्ता माग गर्दा भुक्तानी प्रक्रियामा असन्तुलन हुने भन्दै सहकारीहरूका छाता संस्थाहरुले सो निर्देशन दिएका थिए । तर, त्यसले सहकारीका सदस्यहरुमा त्रास सिर्जना गर्नमा सघाउ पुर्याएको सहकारी विज्ञहरु बताउँछन् ।
गत साउनमै गौतमश्री बहुउद्देश्यीय सहकारी लिमिटेडका निक्षेपकर्ताले निक्षेप फिर्ताको माग गर्दै सहकारी विभागमा उजुरी गरेपछि अन्य सहकारीमा पनि निक्षेप फिर्ताको चाप बढेको समाचार बाहिरिएका थिए । त्यससँगै देउराली बहुउद्धेश्यीय सहकारी, काठमाडौंको शाँखुमा रहेको जन्म बचत तथा ऋण सहकारी संस्था लगायत समस्यामा परेको समाचार बाहिरिएका थिए । त्यसपछि निरन्तर रुपमा अन्य सहकारीहरुमा पनि चाप बढेको बताइएको छ ।
गत साता मात्रै राष्ट्रिय सहकारी महासंघले सहकारीको पैसा सहकारीमै राख्नु पर्ने र सहकारीको पैसा बैंकमा नराख्न आग्रह गरेको थियो । महासंघले सात बुँदे निर्देशन जारी गर्दैतरलता अभाव हुन नदिनका लागि सहकारीको पैसा सहकारीमै राख्ने अभियानलाई स्थापित गर्ने सबै सहकारीहरुलाई अनुरोध गरेको थियो । त्यसँसँगै हल्ला भएजस्तो सहकारीमा गम्भीर समस्या नभएकोले आफू आवद्ध संस्थासँग नियमित सम्पर्कमा रही निश्चिन्त भएर सेवा लिन ग्राहकहरुसँग आग्रह पनि गरेको थियो ।
भदौ १८ गते नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवसमा बोल्दै राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंकहरुले आकर्षक मुद्दति योजना ल्याउँदा सहकारीमा समस्या देखिएको बताएकी थिइन् ।
‘मेरो स्मरण भएसम्म बैंकहरुले यस्ता खालको आकर्षक मुद्दति योजना ल्याएका थिएनन्, मानिसहरु सहकारीमै बचत गर्न रुचाउँथे, बैंकहरुले पैसा १० गुणासम्म बढ्ने योजना ल्याएपछि सहकारीहरुबाट पैसा झिकेर बचतकर्ताले पैसा ती योजनाहरुमा राख्ने थाले, तरलतामा समस्या भएकै कारण बैंकहरुले निक्षेप बढाउन त्यस्ता योजनाहरु ल्याए, जसको प्रत्यक्ष असर सहकारीमा परेको हो,’ उनले कार्यक्रममा भनेकी थिइन् ।
विश्वको अर्थतन्त्रमा नै समस्या आउँदा सहकारीमा पनि केही समस्याको संकेत देखिएको उनको भनाइ थियो । उनले तरलता अभाव भइरहेको समयमा बचतकर्ताले आवधिक निक्षेप पनि झिक्न खोज्दा समस्या सिर्जना भएको धारणा राखेकी थिइन् । सहकारीहरुमा एकपछि अर्को समस्या बाहिरिन थालेपछि बचतकर्ताले आवधिक बचत पनि फिर्ता माग्न थालेको सहकारीकर्मीहरु बताउँछन् । यसले पनि सहकारीहरुलाई एक किसिमको समस्या सिर्जना गरेको छ ।
सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पनि तरलताको समस्याका कारण सहकारीमा पनि केही समस्या देखिएको बताए ।
‘अहिले विश्वको अर्थतन्त्र नै समस्यामा छ, नेपाली बैंक वित्तीय संस्था नै समस्यामा छन्, आयात निर्यातको ट्रेण्डले पनि त्यो देखाउँछ, पुँजीगत खर्च हुन सकेको छैन, रेमिट्यान्समा कमि आइरहेको छ, वित्तीय प्रणालीमा नै समस्या छ, फ्रोन्टमा सहकारी हुँदा समस्या देखिएको हो तर सहकारीमा धेरै हल्ला गरेर यस्तो अवस्था सिर्जना गरियो, जुन गलत हो,’ उनले भने ।