
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बैंकको लाइसेन्स खुला हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औं वार्षिक साधारणसभामा बोल्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका छन् ।
‘न्युनतम पुँजी २० अर्ब रूपैयाँ राखेर हुन्छ, आवश्यक मापदण्ड बनाएर लाइसेन्स खुला गरिनुपर्छ, कुनै पनि क्षेत्रमा सिण्डिकेट राख्नु हुदैन’ उपाध्यक्ष पौडेलले भने । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको लाइसेन्स बन्द गरेको १३ वर्ष भएको छ ।
नेपालको विकास कसरी हुँदैछ भनेर व्याख्या गर्ने क्रममा उनले आगामी पाँच वर्षभित्र आर्थिक उदारिकरण विस्तारित हुने र सबै क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य हुने बताए । पत्रकारहरूले पनि साेही अनुसार कमल चलाउनु पर्ने उनले बताए ।
हरेक क्षेत्रमा लगानीकर्ताले चाहेमा नयाँ कम्पनी खोल्न र लगानीकर्ताले चाहेमा पुराना कम्पनी बन्द गर्न पाउने गरी सहज वातावरण बनाइदिनुपर्ने उनले बताए ।
अहिले बैंक, बीमा कम्पनी, सेयर ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङ, मेडिकल कलेज, कलेज, बोडिङ स्कूल, बचत तथा ऋण सहकारी संस्था, पेट्रोल पम्प, मदिरा उद्योग, चुरोट उद्योग, क्रसर उद्योग लगायत दर्जनौ क्षेत्रमा खोल्न सरकारले लाइसेन्स बन्द गरेको छ ।
सिण्डिकेटका कारण उद्योग, व्यापार, यातायात लगायत धेरै क्षेत्रमा समस्या रहेको उनले सुनाए । सिण्डिकेट कै करण भारतमा ३ सय रुपैयाँ पर्ने भ्याक्सिनलाई नेपालमा १२ सय परिरहेको उनले बताए ।
गभर्नरको असहमति

विकासन्युजसँगको जिज्ञासामा गभर्नर अधिकारीले अहिले राष्ट्र बैंक लाइसेन्स खुला गर्न पक्षमा नरहेको बताए । ‘हामी अहिल मर्जरलाई प्रोत्साहित गर्दैछ । तत्कालका लागि बैंक र बीमा क्षेत्रको लागि लाइसेन्स खुला गरिनुहुन्न भन्ने मेरो मत हो’ उनले भने ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेलले बैंकिङ क्षेत्रमा लाइसेन्स खुला गर्नुपर्छ भन्दै गर्दा गभर्नर महाप्रसाद अधिकारी सोही कार्यक्रमको मञ्चमा थिए । उनले विश्व पौडेलले बोल्नु भन्दा पहिला बोल्दै वर्किङ क्यापिटल बारे राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन २०७९ को बचाउ गरेका थिए । ‘राष्ट्र बैंकले करिव ७ वर्ष लगाएर धेरै मिहेनतका साथ यो नीति लिएको हो । यसका व्यवहारिक पक्षहरु हेरिएका छन् । कार्यान्वयनमा समस्या हुनेछैन’ अधिकारीले भने ।