काठमाडाैं । २६ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा साढे ३१ अर्ब रुपैयाँ आम्दानी वापतकाे कर (इनकम ट्याक्स) तिरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा २६ वटा वाणिज्य बैंकहरुले कुल ३१ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ आम्दानी कर तिरेका हुन् ।
आम्दानी कर सबैभन्दा बढी तिर्नेमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । यस बैंकले कुल २ अर्ब २३ करोड ४६ लाख रुपैयाँ आम्दानी कर तिरेको छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंक र तेस्रोमा नबिल बैंक छ ।
गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले २ अर्ब १९ करोड ४० लाख रुपैयाँ आम्दानी कर तिरेको छ भने नबिल बैंकले २ अर्ब १३ करोड १४ लाख रुपैयाँ आम्दानी कर तिरेको छ । बैंकहरुले अन्य शिर्षकमा पनि कर तिर्नु पर्छ ।
आन्तरिक राजश्ज विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने बैंक भने एनआइसी एसिया बनेको छ । तर, एनआइसी एशिया बैंकले आम्दानी कर भने १ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ आम्दानी कर तिरेको छ ।
१२ वटा वाणिज्य बैंकहरुले १ अर्ब बढी आम्दानी कर तिरेका छन् भने एक दर्जन वाणिज्य बैंकले एक अर्बभन्दा कम इनकम ट्याक्स तिरेका छन् ।