काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कम्पनीको वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालु पूँजी कर्जा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।
इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्जन सायकल, दैनिक वस्तु बिक्री लगायतका विषयहरु हेरेर वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो । यी विभिन्न विषयहरुको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पूँजी कर्जा सीमा कायम गर्न सक्ने व्यवस्था सो मागदर्शनमा उल्लेख छ ।
अब यदि कुनै कम्पनीले वार्षिक एक करोड रुपैयाँ कारोबार गर्छ भने उसले चालु पूँजी कर्जा अन्तर्गत ४० लाख रुपैयाँ कर्जा पाउने छ । तर, याे २ कराेडभन्दा कमकाे लागि मात्रै हाे । कम्पनीले बिक्री गर्ने वस्तु, कम्पनीकाे पुँजी लगायतका विषय बैंकले निर्धारण गरे अनुरुप हुनु पर्छ । ४० प्रतिशतकाे कर्जा सबै कम्पनीमा भने लागू हुँदैन ।
कुनै फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल २ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नु पर्ने व्यवस्था पनि गरिएको छ । यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ । अब कुनै कम्पनीले २ करोड रुपैयाँ कर्जा पाउनका लागि पनि १० करोडभन्दा बढीको कारोबार गर्नु पर्ने हुन्छ ।
सो मार्ग दर्शनमा चार प्रकारका चालु पुँजी कर्जाको व्यवस्था गरेको छ भने अधिकतम १० करोड रुपैयाँसम्मको सीमा तोकेको छ । एक ग्राहकले एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाबाट कुल रु. १० करोड वा सोभन्दा बढी रकमको चालू पुँजी प्रकृतिको कर्जा उपयोग गर्ने/गरेको देखिएमा त्यस किसिमकोकर्जा प्रवाह/नवीकरण गर्नुअघि कर्जा प्रवाह गर्ने संस्थाहरु बीच एक आपसमा सम्झौता भएको हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । कर्जा असुली नभएको खण्डमा अपनाइने कर्जा असुली, धितो लिलामी तथा विवाद समाधानसम्बन्धी व्यवस्थासमेत उक्त सम्झौतामा उल्लेख गर्नु पर्ने मागदर्शनमा उल्लेख छ ।
राष्ट्र बैंकले क्यास क्रेडिट कर्जा, अल्पकालीन अवधिको कजा, आयात निर्यातसँग सम्बन्धित कजा र चालू पुँजी प्रयोजनको आवधिक कर्जाको व्यवस्था गरेको छ । क्यास क्रेडिट कर्जा अन्तर्गत औद्यौगिक एवम् व्यापारिक कम्पनी/फर्म/संस्थाको चालू सम्पत्ति व्यवस्थापनका लागि सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक वा धरौट बन्धक र धितोबन्धक राखी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने र त्यसलाई नवीकरणयोग्य गर्न मिल्ने व्यवस्था गरेको छ ।
यस्तै, अल्पकालीन अवधिको कर्जा अन्तर्गत औद्यौगिक एवम् व्यापारिक कम्पनी/फर्म/संस्थाको अल्पकालीन चालूपूँजीको आवश्यकतालाई पूर्ति गर्न सोही चालू सम्पत्ति धितोलाई दृष्टिबन्धक वा धरौटी बन्धक गरी निश्चित अवधि तोकी एकमुष्ट कर्जा प्रवाह र एकमुष्ट भुक्तानी हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई अल्पकालीन अवधिको कर्जा मानिनेछ । यस्तो कर्जा नवीकरणका लागि योग्य नहुने व्यवस्था गरेको छ ।
आयात निर्यातसँग सम्बन्धित कर्जामा भने ट्रस्ट रिसिट लगायतका कर्जा पर्दछन् । औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि खोलिएका प्रतीतपत्र वा अन्य माध्यमबाट मालसामान आयात निर्यात गर्दा/गराउँदा रकमको सीमासम्मको रकम भुक्तानी गर्ने प्रयोजनका लागि प्रदान गरिने कर्जा यस अन्तर्गत पर्दछन् । यस्तै, व्यवसायको चालूपुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकतालाई कम्तीमा पाँच वर्ष अवधिको आवधिक कर्जा प्रदान गर्नु पर्ने व्यवस्था गरेको छ ।
यस्तै, चालूपुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा ५ वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी आप्mनो चालू पुँजी कर्जासम्बन्धी नीतिबमोजिम हुनु पर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले ऋणीको चालूसम्पत्ति र चालूदायित्वको देहाय बमोजिमको विवरण कर्जा फाइलमा अद्यावधिक गरी राख्नुपर्नेछ । ५ करोड रुपैयाँसम्मको चालूपुँजी कर्जाको हकमा ग्राहक स्वयंबाट प्रमाणित मासिक विवरण, ५ करोडभन्दा बढी चालू पुँजी कर्जाको हकमा ऋणी संस्थाको आन्तरिक लेखा परीक्षणबाट प्रमाणित त्रैमासिक विवरण अद्यावधिक गर्नु पर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
मौज्दातमा रहेको सामानको भौतिक निरीक्षण गर्दा कर्जा दुरुपयोग भएको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असुलीको प्रक्रिया अगाडि बढाउनुपर्दछ ।