काठमाडौं । ग्राण्डी सिटी हस्पिटलले ९ वर्षअघि ग्राण्डी इन्टरनेशनल हस्पिटललाई दिएको ऋण फिर्ता गर्न ठूलो सकस परेको छ । ग्राण्डी सिटीले हस्पिटलले विभिन्न अड्डा अदालत धाउँदा पनि ग्राण्डी इन्टरनेशनबाट सहयोगका दिएको ऋण फिर्ता ल्याउन अहिले ग्राहो परेको हो ।
‘९ वर्ष अघि ग्राण्डी इन्टरनेशनल अस्पतालले बैंकको ब्याज तिर्न, डाक्टर/नर्स तथा कर्मचारीहरुको पारिश्रमिक भुक्तानी गर्न, सामान सप्लायर्सहरुलाई रकम भुक्तानी गर्न रकम अभाव भएको भन्दै ग्राण्डी सिटी हस्पिटलसँग सहयोग स्वरुप ऋण दिन आग्रह गरेकाले उपलब्ध गराएको थियो,’ ग्राण्डी सिटीले विज्ञप्तिमा भनेको छ ।
‘ग्राण्डी इन्टरनेशनल हस्पिटलले २०७० जेष्ठ १० गतेका दिन ३ करोड रुपैयाँ, जेष्ठ १७ गते र २० गतेका दिन ६०/६० लाख रुपैयाँ गरी १ करोड २० लाख रुपैयाँ ऋण लिएको छ, त्यस्तै, २०७० जेष्ठ २६ गतेका दिन ४ करोड रुपैयाँ, असार ७ गतेका दिन १ करोड रुपैयाँ र असार १२ गतेका दिन १ करोड रुपैयाँ गरी जम्मा १० करोड २० लाख रुपैयाँ ऋण लिएको छ,’ ग्राण्डी सिटीले भन्यो ‘अस्पतालले ९ वर्ष अगाडी ९ महिनामा तिर्ने बाचा गरेको भएपनि हालसम्म साँवा र ब्याज कुनै रकम उपलब्ध गरेको छैन् ।’
यो बीचमा ग्राण्डी सिटी आफ्नो रकम असुल गर्नका लागि काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अदालतले २०७६ असार १६ गते रकम तिर्न निर्देशन दिएको थियो । उल्टै फैसला बमोजिम साँवा ब्याज नतिरी उच्च अदालतमा पुनरावेदन दायर गरेको थियो । उच्च अदालत पाटनले २०७८ फागुन २ गतेका दिन काठमाडौं अदालतको फैसलालाई सदर गरेको थियो ।
उच्च अदालतको समेत फैसालालई वेवास्ता गर्दै अझै पनि रकम फिर्ता नगरेपछि कार्यान्वयनको लागि अदालत गुहारेपछि कारवाही भइरहेको ग्राण्डी सिटीले जनाएको छ । दुई तहबाट फैसला गर्दापनि ग्राण्डी इन्टरनेशनलले पुनः मुद्दा दोहोर्याई हेरी पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिएर समय लम्ब्याइरहेको आरोप ग्राण्ड सिटीले लगाएको छ ।
ग्राण्डी इन्टरनेशनलले ग्राण्डी सिटी हस्पिटलसँग ऋण लिएको रकम १० करोड २० लाख रुपैयाँ मात्र भएपनि ४८ करोड रुपैयाँ साँवा भुक्तानी गरिसकेको भनेर झुठो तथा गलत प्रचार गरेको ग्राण्डी सिटीले बताएको छ । अहिले आएर अस्पतालले साँवा ब्याज रकम भुक्तानी गर्दा टाट पल्टने भन्दै बाहना गरिरहेको ग्राण्डी सिटीले जनाएको छ ।