काठमाडौं । सरकारले बजेटमार्फत् कोरोना प्रभावित उद्योगी व्यवसायीलाई विभिन्न कर छटु तथा सहुलियत दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै विभिन्न कर छुट तथा सहुलियत प्रदान गरेको हो ।सरकारले कोरोना प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, चलचित्र व्यावसाय (निर्माण वितरण तथा प्रदर्शन) पार्टी प्यालेस, सञ्चार गृह (मिडिया हाउस) वा यातायात सेवाको एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७८/७९ मा आफ्नो व्यावसायिक उद्देश्य अनुरूपको आयमा आयकर ऐन २०५८ बमोजिम लाग्ने करमा पचास प्रतिशत छुट दिएको छ ।
कोभिङ-१९ को सङ्क्रमणबाट प्रभावित कारोबारमा कर छुट सहुलियत सम्बन्धी विशेष व्यवस्थाः
(१) तीस लाख रुपैयाँसम्मको कारोबार वा तीन लाख रुपैयाँसम्म आय भई आयकर ऐन २०५८ को दफा ४ को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई आय वर्ष २०७८÷७९ मा लाग्ने करमा पचहत्तर प्रतिशत छुट हुनेछ ।
(२) आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क) बमोजिम कारोबारको आधारमा कर बुझाउने तीस लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई आय वर्ष २०७८/७९ मा लाग्ने करमा पचास प्रतिशत छुट हुनेछ ।
(३) होटल, ट्राभल, ट्रेकिङ्ग, चलचित्र व्यावसाय (निर्माण वितरण तथा प्रदर्शन) पार्टी प्यालेस, सञ्चार गृह (मिडिया हाउस) वा यातायात सेवाको एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७८/७९ मा आफ्नो व्यावसायिक उद्देश्य अनुरूपको आयमा आयकर ऐन २०५८ बमोजिम लाग्ने करमा पचास प्रतिशत छुट हुनेछ ।
सूचना प्रविधिमा आधारित कारोबारलाई प्रोत्साहन सम्बन्धी विशेष व्यवस्थाः
कुनै बासिन्दा व्यक्तिले आय वर्ष २०७९÷८० मा बिजनेश प्रोसेस आउटसोर्सिङ्ग सफ्टवेयर प्रोग्रामिङ्ग क्लाउड कम्प्युटिङ्ग लगायतका सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने कारोबार गरी सो बापत बिदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आय वर्ष २०७९÷८० मा विदेशी मुद्रामा प्राप्त गरेको आयको हदसम्म आयकर ऐन २०५८ बमोजिमको करयोग्य आयमा एक प्रतिशत मात्र कर लाग्नेछ ।
दुवानी साधनको भाडा बापतको खर्च कट्टी सम्बन्धी विशेष व्यवस्थाः
ढुवानी सेवा प्रदायक व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको लागि आर्थिक वर्ष २०७७÷७८ मा स्थायी लेखा नम्बर नभएका प्राकृतिक व्यक्तिबाट ढुवानीका साधन भाडामा लिई त्यस्तो भाडा बापतको रकम भुक्तानी गर्दा आयकर ऐन २०५८ को दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (८) बमोजिम अग्रिम कर कट्टी गरी भुक्तानी गरेकोमा सो ऐनको दफा २१ को उपदफा (१) को खण्ड (घ२) बमोजिमको बीजक नभए पनि त्यसरी भुक्तानी गरिएको भाडा बापतको रकम सो आय वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ ।
प्राइभेट फर्म तथा कम्पनी नवीकरण शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था:
प्राइभेट फर्म रजिष्ट्रेशन ऐन २०१४ तथा कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले संवत् २०७९ साल पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्क मिनाहा हुनेछ ।
करको दायरामा आउनेलाई कर शुल्क तथा व्याज मिनाहा हुनेः
(१) कुनै व्यक्तिले विगतमा कर लाग्ने आय आर्जन गरेको तर त्यसरी आर्जित आयमा कर नबुझाएको भए त्यस्ता व्यक्तिले स्थायी लेखा नम्बर लिई आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को आय विवरण र सोमा लाग्ने कर संवत् २०७९ साल पुस मसान्तसम्म बुझाएमा सो वापत लाग्ने शुल्क तथा व्याज मिनाहा हुनेछ ।
(२) उपदफा (१) बमोजिम आय विवरण र कर बुझाएमा सोभन्दा अधिका आर्थिक वर्षहरूको आय विवरण र सोमा लाग्ने कर शुल्क तथा व्याज मिनाहा हुनेछ ।
(३) उपदफा (१) मा तोकिएको अवधिभित्र आय विवरण र सोमा लाग्ने कर दाखिल नगरेमा सो अवधि व्यतित भएपछि त्यस्तो कर शुल्क तथा व्याज मिनाहा नगरी पुरै असुल गरिनेछ ।
संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) करदातालाई बक्यौता मूल्य अभिवृद्धि कर छुट सम्बन्धी विशेष व्यवस्थाः
(१) मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम दर्ता भएका संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) ले संवत् २०७८ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण र कर नबुझाएको भए बुझाउन बाँकी कर विवरण सो विवरण बमोजिमको कर र व्याजको पचास प्रतिशत रकम संवत् २०७९ साल पुस मसान्तसम्ममा बुझाएमा मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम लाग्ने जरिवाना, थप दस्तुर र बाँकी व्याज मिनाहा हुनेछ ।
(२) उपदफा (१) बमोजिमका करदाताले संवत् २०७८ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर विवरण बुझाई कर दाखिला गर्न मात्र बाँकी रहेको भएमा बक्यौता कर र व्याजको पचास प्रतिशत रकम संवत् २०७९ साल पुस मसान्तसम्म बुझाएमा मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम लाग्ने थप दस्तुर र बाँकी व्याज मिनाहा हुनेछ।
अन्तःशुल्क इजाजतपत्रवालालाई बक्यौता अन्तःशुल्क छुट सम्बन्धी विशेष व्यवस्थाः
(१) अन्तःशुल्क ऐन २०५८ बमोजिम अन्तःशुल्क विवरण पेश गर्नुपर्ने स्वयं निष्काशन प्रणालीमा आधारित इजाजतपत्रवालाले संवत् २०७८ साल चैत मसान्तसम्मको आफूले बुझाउनु पर्ने अन्तःशुल्क बिबरण र अन्तःशुल्क नबुझाएको भए उक्त बुझाउनु पर्ने बाँकी अन्तःशुल्क विवरण सो बिबरण बमोजिमको अन्तःशुल्क रकम र विलम्ब शुल्क बापतको पचास प्रतिशत रकम संवत् २०७९ साल पुस मसान्तसम्म बुझाएमा अन्तःशुल्क ऐन, २०५८ बमोजिम लाग्ने जरिवाना र बाँकी बिलम्ब शुल्क मिनाहा हुनेछ ।
२) उपदफा (१) बमोजिमका इजाजतपत्रवालाले संवत् २०७८ साल चैत मसान्तसम्मको आफूले बुझाउनुपर्ने अन्तःशुल्क विवरण बुझाई अन्तःशुल्क दाखिला गर्न मात्र बाँकी रहेको भएमा वक्यौता अन्तःशुल्क र बिलम्ब शुल्क बापतको पचास प्रतिशत रकम संवत् २०७९ साल पुस मसान्तसम्म बुझाएमा अन्तःशुल्क ऐन २०५८ बमोजिम लाग्ने जरिवाना र बाँकी बिलम्ब शुल्क मिनाहा हुनेछ ।
मौज्दात लगत कट्टा सम्बन्धी विशेष व्यवस्थाः
आन्तरिक राजस्व कार्यालयले स्थलगत निरीक्षण प्रतिवेदन सहित लगत कट्टाको लागि सिफारिस गरिसकेको तर लगत कट्टाको निर्णय हुन नसकेका अन्तःशुल्क इजाजतपत्र प्राप्त उद्योगहरुले पन्ध्र वर्ष भन्दा पुराना मौज्दात लगत कट्टाको लागि संवत् २०७९ साल पुसभित्रमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएमा त्यस्तो मौज्दातको लगत कट्टा हनेछ ।
पूर्वानुमानित तथा कारोबारमा आधारित आय विवरण पेश गर्ने करदाताको लागि विशेष व्यवस्थाः
(१) आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) तथा (४क) बमोजिम आय विवरण र कर दाखिला गरेका करदाताले आर्थिक वर्ष २०७७÷७८ सम्मको आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अङ्ग फरक परेको भएमा त्यस्ता करदाताले संवत् २०७९ साल चैत मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बास्तविक कारोवार घोषणा गरी फरक परेको बिक्री रकमको एक दशमलव पाँच प्रतिशत कर दाखिल गरेमा करदाताले घोषणा गरेको हदसम्मको कर अन्तिम हुनेछ ।
(२) आयकर ऐन २०५८ को दफा ४ को उपदफा (४) तथा (४क) बमोजिम आय विवरण र कर दाखिल गरेका करदाताको आर्थिक बर्ष २०७७/७८ सम्मको वास्तविक कारोबार अङ्क फरक परेको आधारमा संवत् २०७९ साल जेठ १४ सम्म आयकरतर्फ संशोधित कर निर्धारण र मूल्य अभिवृद्धि करतर्फ कर निर्धारण भई बक्यौता रहेका करदाताले कर निर्धारण गर्दा कायम भएको थप बिक्री रकमको एक दशमलब पाँच प्रतिशत कर संवत् २०७९ साल चैत मसान्तसम्म दाखिला गरेमा वा यस्तो कर निर्धारण उपर चित्त नबुझाई कानून बमोजिम प्रशासकीय पुनरावलोकन वा अन्य न्यायिक निकायमा पुनरावेदन गरेको करदाताले मुद्दा फिर्ता लिई कर निर्धारण गर्दा कायम भएको थप बिक्री रकमको एक दशमलब पाँच प्रतिशत कर दाखिल गरेमा बाँकी कर थप दस्तुर जरिवाना र शुल्क मिनाहा हुनेछ ।
खोप उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट सहुलियत सम्बन्धी विशेष व्यवस्थाः
खोप उद्योग स्थापनाको लागि स्वीकृत स्किम बमोजिम आवश्यक पर्ने मेसिन उपकरणको पैठारीमा आर्थिक वर्ष २०७९/८० मा लाग्ने भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर छट हुनेछ ।
तरल अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट सहुलियत सम्बन्धी विशेष व्यवस्थाः तरल अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने भन्सार उपशीर्षक ८४२१.३९.१० मा पर्ने मेसिन उपकरणको पैठारीमा आर्थिक वर्ष २०७९/८० मा लाग्ने भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर छुट हुनेछ ।