बजेटले चुनाव मात्रै देख्यो, संकट देखेन-पूर्वमन्त्री पाण्डे

<p>काठमाडौं । पुर्वअर्थमन्त्री तथा एमाले नेता शुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्ष ल्याएको बजेटले मुलुकको संकट भन्दा पनि चुनाव मात्रै देखेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता पाण्डेले भने, ‘अहिलेको संकटतर्फ यो बजेट प्रवेश नै गरेन, यसले चुनाव मात्रै देख्यो, कंग्रेशलाई चुनाव भएदेखि यो गलगाँड छुटेर जाने आशामा छ’, उनले भने, ‘संकट यत्रो [&hellip;]</p>

काठमाडौं । पुर्वअर्थमन्त्री तथा एमाले नेता शुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्ष ल्याएको बजेटले मुलुकको संकट भन्दा पनि चुनाव मात्रै देखेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता पाण्डेले भने, ‘अहिलेको संकटतर्फ यो बजेट प्रवेश नै गरेन, यसले चुनाव मात्रै देख्यो, कंग्रेशलाई चुनाव भएदेखि यो गलगाँड छुटेर जाने आशामा छ’, उनले भने, ‘संकट यत्रो चर्को छ बजेट अर्कोतर्फ छ ।’

आफ्नो पार्टीको नेतृत्वमा विगतमा रहेको सरकारले ल्याएको बजेटको बचाउ गर्दै नेता पाण्डेले आफुहरुले बजेट ल्याउँदा लिक्विडीटी थियो, रुस युक्रेन युद्ध थियो भन्ने प्रश्न गरे । अहिले विश्व नै मुद्रास्फीतिको समस्यामा छ । बजेट बनाउँदा यो संकटतर्फ ध्यान नदिएको उनको भनाई थियो ।

सरकारले चालु आवमा निर्यातमा २ गुणाले वृद्धि गर्ने भनेकोमा के मा गर्यो भन्दै आगामी आवमा झन त्यो सम्भव नभएको बताए । उनले अहिले पाम आयलमा इन्डोनेसियाले निर्यातमा लगाएको प्रतिवन्धको सन्दर्भ सुनाए ।

बजेटले विद्युत निर्यातको विषयलाई उठान गरेको तर भारतले नेपालको लगानी वा भारतको लगानीमा मात्रै बनेको विद्युत किन्छु भनेको सन्दर्भ राख्दै नेता पाण्डेले बजेटले सो कुरालाई ख्याल नगरेको बताए ।

सरकारले आगामी वर्षमा राजश्व उठाउने लक्ष्य टाईंटाईं फिस हुनसक्ने बताए । उनले भने, ‘हरेक महिना १२ देखि १५ करोड डलर घटेको छ । डलर घट्दै जाँदा हामी खरिद गर्ने क्षमतामा कमजोर हुनेछौं । त्यस्तो अवस्थामा कसरी लक्षित राजस्व उठाउनुहुन्छ,’ उनले भने, ‘हामी सुझाव दिन्छौं, मान्नुस नमाने पनि केही छैन् ।’

चितवन १ घण्टामा पुगिने कुरा सुनेर आफु पनि खुसी भएको तर सो शिर्षकमा बजेट नै नभएकोमा अचम्म परेको सुनाए । नेता पाण्डेले भने, ‘मैले चितवन एक घण्टामा जाने सुनेर खुसी भएँ, तर यसो हेरेँ तर बजेट छैन् । निजी क्षेत्रले बनाउने भनेको रहेछ । तपाईंले निजी क्षेत्रलाई एक करोड दिन सक्नुहुन्न । अनि यो काम कसरी हुन्छ ?’

इन्डक्सन चुल्हो कार्यक्रम चुनाव लक्षित पैसा उठाउने एजेण्डा भएको हुनसक्ने नेता पाण्डेले आशंका गरे । उनले भने, ‘इन्डक्सन चुल्हो पनि मैले देखें बजेटमा । यसको लागि ५ खर्बको पूर्वाधारमा लागि लगानी गर्नुपर्छ । तपाइंले ६० हजार इन्डक्सन चुल्हो बाँड्ने भन्नुभएको छ । न्यूनतम रुपैयाँमा किन्दा पनि ३० अर्ब रुपैयाँ पर्छ,’ उनले भने, ‘कतै चुनावको लागि पैसा उठाउन खोजेको त होइन् ।’

रासायनिक मलमा आधा पैसा कम बजेट छुट्याएर कृषि आयात घटाउने कुरा तर्कसंगत नभएको नेता पाण्डेले सुनाए । संसद्मा प्रतिकृया राख्दै उनले भने, ‘कृषिमा ३० प्रतिशत आयात कटौती गर्छु भन्नुभएको रहेछ । गत वर्ष ५१ अर्बको चामल मात्रै आएको रहेछ । यो वर्ष पनि घट्ने अवस्थामा छैन् । तपाईंले मल पनि दिन सक्ने अवस्था छैन् ।’ नेता पाण्डेले प्रतिप्रश्न गरे, ‘अनि कसरी आयात कटौती सम्भव छ ? पोहोर भन्दा आधा कम पैसा मल आयातमा छुट्याउनुभएको छ, अनि उत्पादन बढाउँछु भन्नुभएको छ । यो कसरी सम्भव छ ?’

इलेक्ट्रिल भेइकलमा अन्तःशुल्क लगाउने कुरा पनि विद्युतको खपतसँग नमिलेको कुरा नेता पाण्डेले बताए । दाल, तेल, विस्कुट, पाउरोटीमा पनि अन्तःशुल्क लगाएर स्वदेशी उद्योग धरासाही बनाउन लागेको उनले बताए । त्यस्तै सेनेटरी प्याडको आयातमा भञ्सार शुल्क घटाउने कुराले नेपाली कम्पनी डुबाउन खोजेको उनको तर्क थियो ।

जग्गामा लाइसेन्सवालालाई मात्रै कारोबार गर्न दिने कुरापनि चुनाव केन्द्रीत पैसा उठाउन खोजेको विषय भएको हुनसक्ने आंशका नेता पाण्डेको धारणा थियो ।

शिक्षा र स्वास्थ्यमा पैसा कटौती गरेर कस्तो समाजवाद बनाउन खोजेको भन्दै नेता पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गर्दै भने, ‘यसपटक शिक्षामा पक्कै बढ्छ । मैले १७ प्रतिशत सम्म पुर्याएको थिएँ । स्वास्थ्यमा पनि पैसा कटौती भएको छ । तपाईंले भनेका र गरेका काममा फरक देखियो ।’

बजेट मुलुकको समस्यालाई समाधान गर्ने भन्दा पनि समस्यालाई चर्को बनाउने तिर लक्षित भएको तर्क राख्दै पुर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले बताए । उनले भने, ‘तपाईं कुन बेलाको सरकारमा हुनुहुन्छ ? असार साउनमा काम हुदैन । मंशिर वा फागुनमा चुनाव होला तर यो १७ अर्बको बजेट तपाईंले खर्च गर्नुहुन्छ ?’ ‘पोहोर १सय ७५ अर्बको पेट्रोलियम पदार्थको आयात भएको थियो । अर्को वर्ष ३ सय अर्ब नाघ्नेवाला छ ।’ सरकारले मुद्रास्फीतिलाई ७ प्रतिशतमा रोक्न नसक्ने यो बढेर २ अंकमा पुग्ने नेता पाण्डेको तर्क छ ।

Share News