‘एमालेले भने जस्तो भड्खालोमा जाने बजेट छैन, वृद्धभत्ता भोट बटुल्ने अस्त्र बन्यो’

<p>काठमाडौं । नेकपा (एमाले)ले सोमबार आफ्नो पार्टीका सांसदहरुको बैठक राखेर सरकारले ०७९/८० लागि ल्याएको बजेटको विरुद्धमा भण्डाफोर गर्ने छलफल चलायो । बजेट कार्यान्वयन भएमा देशलाई भड्खालोमा जानबाट कसैले रोक्न नसक्ने कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई बताएका छन् । बजेटका विषयमा चलेको छलफलमा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले सरकारले आगामी [&hellip;]</p>

काठमाडौं । नेकपा (एमाले)ले सोमबार आफ्नो पार्टीका सांसदहरुको बैठक राखेर सरकारले ०७९/८० लागि ल्याएको बजेटको विरुद्धमा भण्डाफोर गर्ने छलफल चलायो । बजेट कार्यान्वयन भएमा देशलाई भड्खालोमा जानबाट कसैले रोक्न नसक्ने कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई बताएका छन् ।

बजेटका विषयमा चलेको छलफलमा पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले सरकारले आगामी आवको लागि ल्याएको बजेटको चिरफार गरेका थिए । सो छलफलमा राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्षहरु डा. पुष्प कँडेल र डा. दिनेशचन्द्र देवकोटाले पनि सांसदहरुलाई प्रशिक्षण दिएका थिए । एमाले संसदीय दलमा गरिएको प्रशिक्षणमा बजेट अवस्तुवादी भएको, चुनावी भएको र बजेटलाई कार्यान्वयनमा लगिए अर्थतन्त्र नै तहसनहस हुने कुरा औंल्याइएको थियो ।

सरकारले आगामी आवको लागि ल्याएको बजेट सापेक्षिक रुपमा सही भएको तर, कार्यान्वयन चुनौतीपूर्ण भएको धारणा निजी क्षेत्रले जनाइरहेको बेला एमालेले किन मुलुक नै भड्खालोमा जाने तर्क अगाडि सार्यो त ? यसमा विषयमा हामीले अर्थविद्सँग सोधेका छौं ।

अर्थविद् डा. अच्युत वाग्लेले सरकारले आगामी वर्षको लागि ल्याएको बजेट कार्यान्वयन गर्दा एमालेले भनेजस्तो मुलुक भड्खालोमा जाने अवस्था नरहेको बताए ।

‘यो पहिलेको बजेटभन्दा कुनै पनि अर्थमा फरक छैन, बजेटको आकार पनि ९ प्रतिशतले मात्रै वृद्धि भएको छ, सामान्यतया बजेट १५ देखि १८ प्रतिशतले वृद्धि हुन पर्ने हो, त्यो हिम्मत पनि सरकारले गरेको छैन,’ उनले भने ।

अर्थविद् वाग्लेले वृद्ध भत्ता एमालेले आफ्नो पेवा कार्यक्रम हो भन्ने ठान्दै आएकोमा यो सरकारले भत्ता पाउने उमेर घटाइदिएकाले उसलाई आपत्ति भएको हुनसक्ने बताए । एमालेले आफ्नो भोट अन्यत्र जान्छ कि भनेर चिन्ता परेको बजेट चुनावमुखी हुने कुरालाई पनि आश्चर्य मान्नुनपर्ने धारणा राखे ।

अर्थविद् वाग्लेले भने, ‘बजेट चुनावमुखी हुन्छ नै, संसारमा सत्तामा भएका दलहरुले चुनावको वर्ष बजेट ल्याउँदाखेरी अलिकति चुनावमुखी कार्यक्रमहरु ल्याउँछन्, त्यसमा कुनै अनौठो मान्नु पर्दैन,’ उनले भने, ‘प्रतिपक्षी दलले जनाउने प्रतिक्रिया पनि अनौठो होइन्, प्रतिपक्षी दलको काम नै सरकारले गरेको कामको विरोध गर्नु हो, यो बजेट कार्यान्वयन हुँदा पनि कुनै क्रान्ति गरिहाल्ने अवस्था छैन् र यो सनातन परम्परावादी निरन्तरता बाहेक केही पनि होइन् ।’

यस्तै, अर्थविद् डा. चन्द्रमणी अधिकारीले पनि प्रतिपक्षी दलले आफ्नो धर्म निभाएको बताए । राजनैतिक दलले अर्काले ल्याएको बजेटको बढी आलोचना गर्ने प्रचलन हाम्रो मुलुकमा पहिलादेखि नै रहेको उनको भनाइ छ ।

‘तथ्यको आधारमा अर्थतन्त्रको अहिलेको अवस्थाको आधारमा बजेटले देशको समस्या कति सम्बोधन गर्न सक्यो सकेन भन्ने हुन्छ’, उनले भने, ‘बजेटका केही कुराहरु सकारात्मक पनि छन्, बजेटले अहिलेको ज्वलन्त समस्यालाई (मुल्यवृद्धि, वैदेशिक मुद्राको सञ्चिति, लगानीयोग्य पुँजीको अभाव, बजेटको कार्यान्वयन फितलो र सुशासनको पक्ष फितलो) बजेटले छोएको छ ।’

आधारभुत रुपमा बजेट समस्यामा केन्द्रीकृत हुन नसकेको उनको भनाइ छ । बजेटको पूरै कार्यान्वयन भयो भने केही उपलब्धि पनि हुने उनले बताए । आफुले बजेटलाई मिश्रित रुपमा लिएको उनको धारणा छ ।

Share News