काठमाडौं । सरकारले कृषि क्षेत्रको विकास गर्ने बताइरहे पनि बजेट भने खासै धेरै छुट्टयाएको छैन । यस्तै, कृषि क्षेत्रमा नयाँ नयाँ नारा थपिए पनि खासै नयाँ कार्यक्रम भने थपिएका छैनन् ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै कृषि तथा पशुपक्षी विकासको क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
सरकारले आत्मनिर्भरताको लागि कृषि उत्पादन कार्यक्रम १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने किसानलाई सस्तो व्याजमा ऋण दिन ५ खर्बको कोष बनाउने भनेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ५ अर्ब ९० करोड, रासायनिक मल खरिद गर्न १५ अर्ब र कृषि तथा पशुबाली बीमा अनुदान दिन ७६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए ।