काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संघीय संसदको दुबै सदनका संयुक्त बैठकमा आज पेश गरिएको बजेटको आकार १८ अर्बको नजिकै छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट पेश गरे । सो बराबरको रकम खर्च गरेर सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
सरकारले सामान्य सार्वजनिक सेवातर्फ ५ खर्ब ७३ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ खर्च गर्ने भएको छ भने रक्षातर्फ ५५ अर्ब ४७ करोड ३८ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।
अर्थमन्त्री शर्माले सार्वजनिक गरेको बजेटमा सार्वजनिक शान्ति सुरक्षाको लागि ६५ अर्ब ४० करोड २ लाख तथा आर्थिक मामिलाको लागि ४ खर्ब ६६ अर्ब ७७ करोड ८ लाख रुपैयाँ बजेट खर्च गर्ने भनिएको छ ।
यस्तै, वातावरण संरक्षणको लागि ११ अर्ब २ करोड २९ लाख, आवाश तथा सामुदायिक सुविधाको लागि ८८ अर्ब ६० करोड ८८ लाख तथा स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २३ अर्ब २५ करोड ५१ लाख रुपैयाँ खर्च गर्ने भनिएको छ ।
मनोरञ्जन, संस्कृति तथा धर्मको लागि सरकारले आगामी आर्थिक वर्षमा ९ अर्ब ६२ करोड ९२ लाख, शिक्षाको लागि १ खर्ब ९६ अर्ब ८९ करोड ३१ लाख र सामाजिक सुरक्षाको लागि २ खर्ब ३ अर्ब ३३ करोड ९६ लाख रुपैयाँ खर्च गर्दैछ ।
कुल विनियोजनमध्ये चालुतर्फ रु. ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत‚ पुँजीगततर्फ रु. ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत, वित्तीय व्यवस्थातर्फ रु. २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु. ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट रु. १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट रु. ५५ अर्ब ४६ करोड व्यहोर्दा रु. ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुनेछ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु. २ खर्ब ४२ अर्ब २६ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद रु. २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।