काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने बताएका छन् ।
उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आव २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । उनले नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसक्ने र कुनै दृष्टिकोण नभएको टिप्पणी गरे ।
‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाबिहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरश छ यो । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । यसले मुलुकका आजका समस्या चिनेको छैन । समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो,’ उनले भने ।
उपाध्यक्ष पौडेलले सरकारले अबलम्बन गरेका नीति तथा निर्णयहरुका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको र सरकार यसबारे मौन रहेको बताए । विगतमा सकारले गरेका राम्रा कामहरुलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रुपमा ल्याएको उनको भनाइ छ ।