काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारेको छ । आज संघीय संसदका दुबै सदनमा अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्र प्रमुखबाट सार्वजनिक गरिने संवैधानिक व्यवस्था छ ।
सरकारले आगामी आर्थिक वर्षको लागि तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकले पारित गरेर राष्ट्रपति कार्यालय पठाइसकेको मन्त्रिपरिषद स्रोतले जानकारी दियो । राष्ट्रपतिले सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने व्यवस्था छ ।
आगामी आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रमहरु कृषि, स्थानीय तह र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रीत हुनेछन् । विश्वभर खाद्य संकट उत्पन्न हुने खतरा बढेको, खाद्यान्नको मूल्य विश्भर नै बृद्धि भएको र नेपाल परम्पारगत रुपमा कृषिमा आधारित अर्थतन्त्र भएकोले कृषि क्षेत्रलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तय गरिएको र बजेटपनि सोही अनुसार आउने नीति तथा कार्यक्रम बनाउन सहभागी अर्थमन्त्रालयका एक विज्ञले बताए ।
‘कृषि क्षेत्रलाई विशेष जोड दिने, संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई स्रोतको अभाव महुसस हुन नदिने र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम बनाएका छौं, बजेट पनि सोही अवधारणा अनुसारको आउँछ,’ ती विज्ञले विकासन्युजसँग भने ।
सरकारले प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आफ्नै कारणले देश संघीय संरचनामा गएको दाबी गर्ने माओवादी केन्द्रका नेता अर्थमन्त्री भएको र यसअघिको एमाले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको आरोप लगाउने पार्टीहरु सरकारमा भएकोले पनि स्थानीय तह र प्रदेशलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउन लागिएको हो ।
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले पनि प्रदेश र स्थानीय तहलाई बलियो बनाएर जानुपर्ने बताइरहेको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरु नेपाली काँग्रेस र माओवादी केन्द्रले पहिलोको भन्दा निकै बढी स्थानमा निर्वाचन जितेकोले पनि स्थानीय तहमा जाने बजेट बढाउन लागिएको हो ।
यस्तै, सरकारले आत्मनिर्भर अर्थतन्त्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम तय गरेको छ । आयात बृद्धिको कारण विदेशी मुद्राको संचिति कम भएर अर्थतन्त्र नै धर्मराउन लागेको समयमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट बनाउन लागिएकोले स्वदेशी उद्योग प्रतिष्ठानको संरक्षण हुने तथा लगानी अभिबृद्धि गर्ने प्रकारका नीति तथा कार्यक्रम बनाउन लागिएको हो ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछ ।