काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने र जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । यस्तै जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताए ।
पाण्डेको अनुसार जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको छ ।उनले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने र प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि शुरु हुने बताए ।