अनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग

<p>काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रको वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको छ । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै [&hellip;]</p>

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा हरेक वर्ष घरभित्रको वायु प्रदूषणका कारण २२ हजार बढीको ज्यान जाने गरेको छ । खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्य मात्रै नभई वातावरणमा समेत प्रत्यक्ष प्रभाव परेको छ ।

दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ । विशेष गरी महिला र बालबालिकाको स्वास्थयमा नराम्रो असर परेको छ । वातावरणमा पर्ने नकारात्मक असरका कारण जलवायु परिवर्तनको जोखिम पनि उत्तिकै बढेको छ । हिमालको हिउँ मात्रै पग्लिएको छैन, त्यसले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

सरकारी विवरणअनुसार नेपालमा परम्परागत ऊर्जाको प्रयोग हालसम्म पनि ६९ प्रतिशत बराबर हुने गरेको छ । त्यसमा दाउरा, गुइँठा र कृषि अवशेषलाई ऊर्जाका रुपमा खपत गरिन्छ । व्यावसायिक ऊर्जाका रुपमा बिजुली, पेट्रोलियम पदार्थ र कोइलाको प्रयोग गरिन्छ । त्यसको हिस्सा २८ प्रतिशत बराबर छ । यसैगरी नवीकरणीय ऊर्जामा लघु जलविद्युत्, सौर्य ऊर्जा र बायोग्याँस पर्छन् । त्यसको हिस्सा तीन प्रतिशत बराबर छ ।

मानवीय र वातावरणीय जोखिम बढाएको परम्परागत ऊर्जाको विकल्पका बारेमा सोच्नुपर्ने र त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता बढेर गएको छ । व्यावसायिक ऊर्जाका लागि मात्रै बर्सेनि ठूलो परिमाणमा लगानी गर्नुपरेको छ । नेपाल आयल निगमले चालु आवको फागुन मसान्तसम्म रु दुई खर्ब बराबरको इन्धन आयात गरेको छ । यस्तै नेपाल विद्युत् प्राधिकरणले चालु आवको अन्त्यसम्म रु १० अर्ब बराबरको बिजुली आयात हुने जनाएको छ ।

यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढाएर त्यसबाट राष्ट्रियरुपमा आत्मनिर्भर हुने र विशेष गरी पेट्रोलियम पदार्थको खपत क्रमशः न्यून गर्दै लैजाने सरकारको सोच छ । सोही सोचअनुसार वर्तमान सरकारले ‘विदेशी ग्यास छाडौं, स्वदेशी बिजुली प्रयोग गरौँ’ भन्ने अभियान नै चलाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नियमितरुपमा देशभित्रै बिजुलीको खपत बढाउने अभियान चलाइरहेकी छन् ।

मन्त्रालयको पहलमा नै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुगर्म क्षेत्रबाट काठमाडौंमा आई अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर आठ हजार ३०० विद्युतीय चुलो उपलब्ध गराउने योजना अगाडि सारेको छ । त्यसको प्रक्रियासमेत अगाडि बढाइसकेको छ तर केन्द्रले ल्याउन लागेको भनिएको विद्युतीय चुलोको सन्दर्भमा राखिएको ‘स्फेसिकेशन’मा गुणस्तर कायम नगरिएको भन्दै प्रश्नसमेत उठेको छ ।

विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने माग उठिरहेका बेला गुणस्तरमा पनि ध्यान दिनुपर्ने मत पनि उत्तिकै बलियो छ । नेपाल ऊर्जा प्रतिष्ठानका कार्यकारी निर्देशक डिल्ली घिमिरेले सरकारले सन् २०३० सम्ममा दिगो विकासको प्रतिबद्धता पूरा गर्न पनि खाना पकाउने ऊर्जालाई सफा ऊर्जामा रुपान्तरण गरी दिगो, सुलभ र आधुनिक ऊर्जा सेवामा पहुँचको ध्येय राख्दै गर्दा गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

खाना पकाउने ऊर्जाका लागि बिजुलीको प्रयोगले नेपालको उत्पादित बिजुली खपत बढाउने र भारतबाट आयातित खाना पकाउने ग्यासलाई विस्तारै कम गर्दै लैजाने नीति अवलम्बन गरी ऊर्जामा आत्मनिर्भरता बढाउनु आवश्यक छ । सरकारले तय गरेको राष्ट्रिय योगदान (एनडीसी)मा घरायसी खाना पकाउने ऊर्जातर्फ सन् २०३० सम्म २५ प्रतिशत घरधुरीमा विद्युतीय चुलो उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यस्तै सन् २०२५ सम्म ग्रामीण क्षेत्रमा पाँच लाख सुधारिएको चुलो जडान गर्ने र थप दुई लाख घरधुरीमा बायोग्यास जडान तथा ५०० ठूला बायोग्यास प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ ।

दिगो विकास लक्ष्यले समेत ९९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच र दाउराको प्रयोग घटाएर ३० प्रतिशतमा झार्ने, प्रतिव्यक्ति विद्युत् खपत बढाएर एक हजार ५०० किलोवाट घण्टा पुर्‍याइने उल्लेख गरिएको छ ।

जनचेतनाको अभावमा विद्युतीय चुलो प्रयोगका सम्बन्धमा अनेकन आशङ्का जनस्तरमा कायम छन् । त्यसलाई सम्बोधन गर्नुपर्ने टड्कारो आवश्यकता छ । विद्युतीय चुलो राष्ट्रिय अभियानका संयोजक नारायण ज्ञवालीले सरकारको अनुदानमा उपलब्ध भएको विद्युतीय चुलो गोदाममा थन्किनु दुःखद् भएको बताए । मधेश प्रदेशमा प्रयोग गर्न भनेर ल्याइएका विद्युतीय चुलो गोदाममा बस्नु, बस्तीमा गुइँठाको प्रयोग नघट्नु कही न कही मिल्दो विषय नभएको उनको भनाइ छ ।

सो अभियानमा सम्बद्धका अनुसार भन्सार शुल्क मात्रै नलाग्ने व्यवस्था गरिए अनुदान नै दिनु पर्दैन । चालु आवमा सरकारले एक प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि कर तथा अन्य विभिन्न करका कारण विद्युतीय चुलो बजारमा महँगो हुँदै आएको छ । करमा छुट दिने र अनुदान दिने व्यवस्था हुन नहुने उनको भनाइ छ ।

जल तथा ऊर्जा आयोगले गरेको अध्ययनअनुसार नेपाल विद्युत् प्राधिकरणले तय गरेको महसुल महँगो भएकाले पनि विद्युतीय चुलो प्रयोगमा अभिवृद्धि हुन नसकेको हो । आम जनसमुदायमा विद्युतीय चुलो परीक्षणमा नै रहेको प्रविधि हो भन्ने भ्रम छ । सो भ्रमलाई पनि चिर्नु आवश्यक रहेको बताइएको छ । त्यसका लागि सरकारले नै जनचेतना अभिवृद्धि गर्ने योजना तय गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । सरकारले आगामी आवको बजेट, नीति तथा कार्यक्रम तय गर्न लागेको सन्दर्भमा यसतर्फ ध्यान दिनु जरुरी रहेको ज्ञवालीको भनाइ छ ।

त्यस्तै प्राधिकरणले आफ्नो वितरण प्रणालीमा सुधार गर्नुपर्ने, ट्रान्सफर्मर परिवर्तनलगायतका काम कारबाहीलाई तत्काल अगाडि बढाउनु जरुरी छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नवीकरणीय ऊर्जा कार्यक्रम संयोजक कुन्दर पोखरेल मजगैयाका अनुसार सरकारको योजनाअनुसार विद्युतीय चुलोको प्रयोग बढाउन जनचेतानमूलक सामग्रीको प्रवर्द्धनमा लागिपरेको बताए ।

प्राधिकरणमा रहेर वैकल्पिक ऊर्जाको क्षेत्रमा काम गर्दै आएका इन्जिनियर सागर ज्ञवालीका अनुसार विद्युतीय चुलोको प्रयोगसँगै विद्युतीय सुरक्षाका बारेमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । उनले खाना पकाउने ग्यासको क्रमशः खपत घटाउँदै लैजाने गरी योजना तय गर्नुपर्नेमा जोड दिए । प्राधिकरणले सहजरुपमा विद्युतीय चुलो प्रयोगका लागि वातावरण बनाउँदै लगेको तथा पाँच हजार मेगावाट बराबरको बिजुली प्रवाहका लागि ट्रान्सफर्मरको क्षमता रहेको इन्जिनियर ज्ञवालीको भनाइ छ । काठमाडौं उपत्यकामा विद्युतीय चुलोको प्रयोग बढाउनका लागि १३२ केभी क्षमताको प्रसारण सर्किट बनाउनुपर्ने आवश्यकता छ । विद्यमान संरचनाबाटै प्रयोग बढाउने अवस्था भने छैन ।

त्यसो त काभ्रेको तेमालमा संस्थागतरुपमा नै विद्युतीय चुलो प्रयोगसम्बन्धी अभियान चलाइएको छ । ललितपुरको महाकालमा दुई हजार ३०५ घरमा विद्युतीय चुलो उपलब्ध गराइएको छ । त्यसमा वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र गाउँपालिकाले अनुदान उपलब्ध गराएको छ । घरको वाइरिङ तथा अन्य खर्चसमेत जोड्दा प्रतिघर लागत रु चार हजार २२३ बराबर पर्न गएको छ ।

Share News