महँगी नियन्त्रण गर्न भन्दै गण्डकी प्रदेशका सबै जिल्ला प्रशासनलाई पत्राचार

<p>पोखरा । पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् । यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफलसमेत गरेका छन् । मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर [&hellip;]</p>

पोखरा । पछिल्ला दिनमा विभिन्न बहानामा मूल्यवृद्धि भएको गुनासो आएपछि यसको नियन्त्रणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो देखाएका छन् । यसका लागि पहिलो चरणमा मुख्यमन्त्री पोखरेलले बुधबार सरकारी अधिकारी र उपभोक्ता अधिकारकर्मीसँग छलफलसमेत गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ बढेको, रुस र युक्रेनबीचको युद्धको कारण देखाएर बजारमा अस्वभाविक महँगी बढेको गुनासो आएपछि नियन्त्रणका लागि पहल थालिएको बताए ।

उक्त छलफलपछि मुख्यमन्त्रीको निर्देशन अनुसार ३ बुँदे निर्णय गरिएको छ । महँगी नियन्त्रणका लागि प्रदेशको पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबै सरोकारवालाई आमन्त्रण गरी छलफल गर्ने निर्णय भएको निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रदेशस्तरीय बजार अनुगमन समितिले बजार अनुगमन कार्यालय प्रभावकारी बनाउन प्रदेशस्तर, जिल्लास्तर र स्थानीयस्तरका बजार अनुगमन समितिबीच समन्वय कायम गरी बजार अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

यसैगरी जिल्लास्तरीय बजार अनुगमन समितिलाई सक्रिय बनाउन ११ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णयसमेत उक्त बैठकले निर्णय गरेको छ ।

बैठकमा पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले अनियन्त्रित बजार भाउलाई काबुमा राख्न उपभोक्ता सचेतनाका साथै क्षमता अनुसार नियमित अनुगमन गर्दै आएको बताए ।

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले बजार अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा लापर्बाही देखिएको बताए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज रिजालले विभिन्न निकायको सहयोग लिएर नियमित रुपमा बजार अनुगमन हुँदै आएको बताए । पोखरामा मिनरल वाटरमा कार्टेलिङका कारण महँगी बढेको पाइएको उनले जानकारी गराए ।

Share News