चितवन । सामाजिक सुरक्षा कोषमा आjद्ध योगदानकर्ताहरुको निःशुल्क उपचार कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरबाट हुने भएको छ ।
कोष र कलेजले यस सम्बन्धी सम्झौता गरेका हुन् । यसभन्दा पहिले औषधिउपचार बापतको खर्च रकम अस्पताललाई भुक्तानी गरे पश्चात योगदानकर्ता आफैले सामाजिक सुरक्षा कोषमा सोधभर्ना दाबी गर्ने झन्झटिलो प्रकृया रहेकोमा अबपछि योगदानकर्ताले सिधै पुरानो मेडिकल कलेजमा कोषले उपलब्ध गराएको कार्ड देखाएर निःशुल्क उपचार सेवा लिन सक्ने र दाबी भुक्तानी कोषले अस्पताललाई सिधै गर्ने नयाँ व्यवस्था गरिएको हो ।
सामाजिक सुरक्षा कोषका सूचना अधिकारी डा रोशन कोजुले पुरानो मेडिकल कलेजसँग सम्झौता भएको बताउँदै उक्त अस्पतालबाट सेवा लिंदा योगदानकर्ताहरुलाई सहज हुने जानकारी दिए । उनले भने, ‘पुरानो मेडिकल कलेजमा उपचार गरे भने सामाजिक सुरक्षा कोषमार्फत् भुक्तानी सहज हुन्छ ।’
सामाजिक सुरक्षा कोषले प्रदान गर्ने औषधीउपचार अन्तर्गत एक आर्थिक वर्षमा ओपिडिमा २५ हजारसम्म र भर्ना भएको बिरामिको हकमा एक लाखसम्म पाईने व्यवस्था छ । औषधिउपचार सेवा लिने बिरामीले २० प्रतिशत रकम भने आफैले व्यहोर्नु पर्ने छ । बाँकी ८० प्रतिशत रकम कोषले सिधैं अस्पताललाई भुक्तानी गर्नेछ । दुर्घटनाका बिरामीको हकमा भने ७ लाखसम्मको उपचार खर्च कोषले व्यहोर्ने छ । यस्तै योगदानकर्ताको श्रीमती गर्भवती हुँदा, गर्भवती अगाडिको परीक्षण र जन्मिएको शिशुको उपचार समेत कोषमार्फत् हुने व्यवस्था रहेको छ ।
निजी क्षेत्रको नेपालकै सबैभन्दा पुरानो यस शिक्षण अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, क्षयरोग सम्बन्धी डट्स कार्यक्रम, भूतपूर्व नेपाली भारतीय सेनाहरुको उपचार सम्बन्धी ईसिएचएस कार्यक्रम, हेमोडायलाइसिस कार्यक्रम, पाठेघरको शल्यक्रिया आदि औषधि उपचार कार्यक्रमहरु निःशुल्क रुपमा उपलब्ध रहेका छन् ।
पुरानो मेडिकल कलेजमा कोषमा आवद्ध योगदानकर्ताहरु उपचारका लागि आउँदा कुनै समस्या भएमा अस्पतालको हटलाइन नम्बर ९८५५०१६१३३ मा सिधै फोन गरी आवश्यक जानकारी लिन सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।