काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ ।
फाउण्डेसन र अस्पतालकाबीचमा आज भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरि हालको १२ शैयालाई विस्तार गरी २५ शैयाको इमरजेन्सी वार्ड निर्माण गर्ने भएको हो । चौधरी फाउण्डेसन चौधरी ग्रुपको सामाजिक गतिविधिमा सक्रिय इकाइ हो ।
शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी तथा अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
‘हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्नु हाम्रो कर्तब्य हो’ चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसैले हामीले बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्छ ।’ अध्यक्ष चौधरीले दुर–दराजसम्मका सर्वसाधरण र निम्न आर्थिक स्तर भएका नागरिकका सन्ततीले पनि सर्वसुभल र गुणस्तरिय उपचार सेवा पाउन भन्ने ध्ययले आफुहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । ‘हामीले यो वार्ड यथासिघ्र निर्माण सम्पन्न सक्छौ’, उपाध्यक्ष चौधरीलेले भने, ‘आउँदा दिनहरुमा पनि अस्पतालको आवश्यकता बमोजिम थप सहयोग गर्नेछौं ।’
अस्पतालका तर्फबाट बोल्दै निर्देशक प्रा.डा. अजित रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।
कान्ति बाल अस्पतालका अतिरिक्त फाउण्डेसनले सोलुखुम्बु जिल्लाको नाम्चे स्थित माउन्टेन मेडिकल इन्सटिटुयुटलाई सहयोग गर्ने भएको छ ।
चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड महामारीकाबीच गत जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण सम्पन्न गरेकोे थियो । फाउण्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तरगत हाल सरकारी अस्पतालका पूर्वधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ ।