काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले पछिल्लो एक सातामा नेपालमा कोभिड-१९ का विरामीहरु थपिन थालेको जनाएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत पछिल्लाे समय काेराेनाकाे संक्रमणदर बढेकाे देखिएकाेले सतर्क रहन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत १–२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ । ओमिक्रोन भेरिएन्ट देखा पर्नु अगाडि पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को (पहिलेको भन्दा सानो) उभार ल्याउने लगभग निश्चित् थियो नै । ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन चाँडो आउने र डेल्टा–मात्रको लहर भन्दा ठुलो हुने पनि सुनिश्चित् भएको छ । खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै निर्क्यौल गरिहाल्न सकिंदैन ।’
उनका अनुसार विगत केही दिनमा विशेष गरी सभा–सम्मेलन, बिहे, भोजभतेर मा संक्रमित भएर केही दिन वा १ हप्तापछि अस्पताल पुग्ने वा भर्ना हुने क्रम बढ्न थालेको देखिएको छ ।
यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित उभार हो कि, यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला । तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो है । बिहेबारी, भोजभतेर, सभा–सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला ।
घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन–९५ वा सो सरहको, मास्क हरबखत लगाउनुहोला। आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला। मास्क लगाउँदा हावाको प्रवेश मास्कको छेउछाउ वा तलमाथिबाट नहुने गरी अनुहारमा टपक्क मिलेको मास्क मात्र लगाउनुपर्छ। त्यस्तो मास्क पाइएन भने बरू एन–९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि दुई थरी मास्क एकैचोटी लगाउने, वा तलको कमेन्ट बक्समा रहेको युट्युब भिडियो लिंकमा देखाइए झैं मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउने गर्नुपर्छ।
वातायन (भेन्टिलेशन) राम्रो नभएको बन्द कोठामा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला।
आफूलाई वा आफ्ना परिवारको कुनै १ मात्र सदस्यलाई “सामान्य रुघा“ वा “खोकि मात्र“ वा “हल्का ज्वरो मात्र“ वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने लक्षण हुनेले तुरुन्त पिसिआर परीक्षण गराउनुहोला। जाँचको रिपोर्ट नआउन्जेल घरका कोही पनि सदस्य कार्यालय, विद्यालय वा बाहिर कतै पनि ननिस्कनुहोला। यदि घरको १ जनाको मात्र पिसिआर पोजिटिव देखियो भने बाँकि सबै जनाले पनि क्वारन्टिनका सकेसम्म सम्पूर्ण नियमहरूको पालना गर्नुहोला।
अनि कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला। जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिड विरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ।