सञ्चय कोष छाेडेर सासु कोषमा जाँदै सञ्चयकर्ता, एक महिनामै १ अर्ब ३८ करोड भुक्तानी

<p>काठमाडौं । पछिल्लो समय कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले धमाधम कोष छाड्न थालेका छन् । कोषका अनुसार पछिल्लो समय कोषमा रकम जम्मा गर्न छोडेर उल्टै जम्मा भएको रकम भुक्तानी लिनेहरुको संख्या बढेको हो । पहिले केही सीमित मात्रामा भुक्तानी लिनेहरु भए पनि पछिल्लो समय भने कोष छोडेर भुक्तानी लिनेहरु बढेका छन् । कर्मचारी सञ्चय कोष स्रोतका [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले धमाधम कोष छाड्न थालेका छन् । कोषका अनुसार पछिल्लो समय कोषमा रकम जम्मा गर्न छोडेर उल्टै जम्मा भएको रकम भुक्तानी लिनेहरुको संख्या बढेको हो ।

पहिले केही सीमित मात्रामा भुक्तानी लिनेहरु भए पनि पछिल्लो समय भने कोष छोडेर भुक्तानी लिनेहरु बढेका छन् । कर्मचारी सञ्चय कोष स्रोतका अनुसार सरकारले सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा आवद्ध हुनु पर्ने नीति बनाएसँगै कर्मचारी सञ्चय कोष छोड्नेहरुको संख्या बढेको हो ।

कोषका अनुसार पहिले कोषबाट बाहिरिनेहरुको संख्या सीमित भएपनि अहिले भने ह्वात्तै बढेको छ । ‘पहिले कोषबाट बाहिरिने सीमित नै हुन्थे, कसैले अवकास पाए, विदेश जानु परे वा अन्तै राम्रो जागिर पाएर राजीनामा पत्र ल्याएमा मात्रै आउँथे, वर्षमा त्यस्ता केसहरु सीमित हुन्थे, तर केही समय यता संख्या बढेको र कोषबाट भुक्तानी हुने रकमको सीमा पनि बढेको छ,’ कोष स्रोतले भन्यो ।

कर्मचारी सञ्चय कोष स्रोतका अनुसार उनीहरुले जागिर किन छोडे वा सञ्चय कोषबाट रकम किन भुक्तानी गरे भन्ने औपचारिक रुपमा जानकारी हुने नभएपनि अनौपचारिक रुपमा व्यक्तिसँग सोधपुछ गर्दा रोजगारदाता सामाजिक सुरक्षामा आवद्ध भएको र आफु पनि सोही कोषमा आवद्ध हुन चाहेकाले सञ्चय कोष छोडेको प्रक्रिया दिने गरेका छन् ।

कोषका अनुसार पछिल्लो समय दैनिक औसत ५ सय जना कोषबाट बाहिरिने गरेका छन् भने दैनिक औसत ५ करोड रुपैयाँ कोषले भुक्तान गर्ने गरेको छ । ती ५ सय जनामध्ये कति अवकास पाएर कतिको मृत्यु भएर वा कतिले जागिर छोडेको राजीनामा पत्र लिएर आउने गरेको कोषको भनाई छ ।

कोषका अनुसार कर्मचारी सञ्चय कोषबाट अहिले सबैभन्दा संस्थानतर्फका सञ्चयकर्ताहरु बढी बाहिरिने गरेका छन् । पछिल्लो समय संस्थानहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने क्रम बढेकोले सञ्चयकर्ताहरु पनि कोषबाट बाहिरी रहेको सञ्चय कोष स्रोतको बुझाई छ ।

सञ्चय कोषले भदौमा मात्रै कुल १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी भएको जनाएको छ । भदौमा आर्मीतर्फको १४ करोड, सिभिल तर्फ १८ करोड, संस्थान तर्फ ४८ करोड, शिक्षा तर्फ २१ अर्ब र प्रहरीतर्फ ३४ करोड रुपैयाँ भुक्तान भएको बताएको छ ।

भदौमा संस्थान तर्फका कुल २ हजार १५३ जना सञ्चयकर्ता कोषबाट बाहिरिएका छन् । कोषले अन्यतर्फभन्दा पनि संस्थानतर्फका सञ्चयकर्ता बढी बाहिरिने गरेका छन् ।

उसो त कर्मचारी सञ्चय कोषमा सञ्चयकर्ताको संख्या पनि वर्षेनी घट्दै गएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष आएपछि कर्मचारी सञ्चय कोषमा आवद्ध सञ्चयकर्ताको संख्या घट्दै गएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा कर्मचारी सञ्चय कोषमा आवद्ध हुने कुल सञ्चयकर्ताको संख्या ६ लाख २७ हजार थिए भने हाल ५ लाख ९८ हजार मात्रै कायम भएका छन् । कोषका अनुसार गत आर्थिक वर्ष कर्मचारी सञ्चय कोषबाट कुल ३८ अर्ब र अघिल्लो आर्थिक वर्ष कुल ३४ अर्ब रुपैयाँ रकम भुक्तानी भएको छ ।

यता सामाजिक सुरक्षा कोष पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट आउने सञ्चयकर्ताको संख्या बढेको बताउँछ । सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थी कुन रोजगारदाता तथा योगदानकर्ता कुन कोषबाट आए भनेर औपचारिक रुपमा जानकारी नहुने भए पनि यसभन्दा अगाडि कुन कोषमा आवद्ध हुनुहुन्थ्यो भनेर सोधपुछ गर्दा सञ्चय कोष र नागरिक कोष भनेर प्रतिक्रिया दिने गरेको बताउँछन् ।

उनका अनुसार सञ्चय कोष र नागरिक लगानी कोषबाट सामाजिक सुरक्षा कोषमा आउने योगदानकर्ताहरुको रकम प्रणालीबाटै ट्रान्सफर हुन्छ । अर्थात योगदानकर्ताले हातमा पैसा पाउँदैनन् । उनीहरुको अगाडि रहेको कोषको रकम सिँधै सामाजिक सुरक्षा कोष भएको व्यक्तिको खातामा आउँछ । तर, हालसम्म भने सो प्रक्रिया पुरा भइसकेको छैन ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष दीर्घकालका लागि राम्रो योजना भएकोले पनि रोजगारदाताले सामाजिक सुरक्षा कोष रोज्ने गरेको हुन सक्ने कर्मचारी सञ्चय कोष स्रोतको बुझाई छ ।

सम्बन्धित सामग्री: सञ्चय कोषले ४ महिनादेखिको सञ्चयकर्ताको रकम ‘इन्ट्री’ गरेन, व्याज के हुन्छ ? 

Share News