सञ्चय कोषले ४ महिनादेखिको सञ्चयकर्ताको रकम ‘इन्ट्री’ गरेन, व्याज के हुन्छ ?

  २०७८ मंसिर ५ गते १७:०४     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको रकम प्रणालीमा ‘इन्ट्री’ नगरेको पाइएको छ । यसअघि मासिक रुपमा प्रणालीमा इन्ट्री गर्ने भएपनि चालु आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि सञ्यकर्ताको योगदानको रकम सिस्टम(प्रणाली) मा अपडेट नगरेको पाइएको हो ।

वर्षौंदेखि कर्मचारी सञ्चय कोषमा आवद्ध सञ्चयकर्ताले यसअघि कोषले मासिक रुपमा रकम अपडेट गरेको देखाउने भएपनि यो वर्ष भने ४ महिना बितिसक्दा पनि अपडेट नगरेको गुनासो गरेका छन् । उनीहरुका अनुसार ४ महिनादेखि रकम प्रणालीमा नदेखिँदा उनीहरु कतै कोषबाट प्राप्त हुने व्याज नपाइने होकि भन्ने चिन्तामा परेका छन् ।

सो सम्बन्धि कोषमा सोधपुछ गर्दा पनि कोषले एकिन उत्तर नदिएको उनीहरुको भनाई छ । उसो त कर्मचारी सञ्चय कोषले पनि सञ्चयकर्ताको योगदानको रकम प्रणालीमा अपडेट नगरेको स्वीकार गरेको छ ।

कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले पनि असार १५ गते यताको रकम प्रणालीमा अपडेट नभएको बताए । उनका अनुसार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस र जनशक्ति अभावको कारण अपडेट हुन ढिलाई भएको हो ।

रकम अपडेटमा ढिलाई भएपनि कुनै समस्या नहुने उनको भनाई छ । चालु आर्थिक वर्षमा धेरै समस्या देखिए, कोरोना भाइरसको कारण पनि काममा केही सुस्तता देखियो, वार्षिक हिसाव मिलानले पनि काम ढिलाई हुन पुग्यो, गत वर्षको सबै हिसाब कात्तिकमा मिल्यो, अब हामीले अपडेट गर्न सुरु गरिसकेका छौं, अप छिट्टै हुन्छ,’ उनले भने ।

उनका अनुसार जंगी, प्रहरी तर्फको एक हप्ता भित्रै अपडेट हुने र संस्थानतर्फको एक महिना नै समय लाग्नेछ ।

उनले विभिन्न विकट क्षेत्रबाट रिपोर्टिङ ढिलो आउँदा पनि अपडेटमा समस्या हुने बताए । ‘कोषमा जंगी, प्रहरी, शिक्षा र संस्थानका कर्मचारीहरु सञ्चयकर्ताका रुपमा हुनुहुन्छ, शिक्षकहरुको त्रैमासिक रुपमा तलब आउने भएकोले पनि हाम्रो रिपोर्टिङमा केही समस्या देखिएको हो, फाँटवारी ढिलाई हुनाले नै सबै काम ढिलाई भएको हो, अब छिटो गर्ने तयारी गरिरहेका छौं,’ उनले भने ।

उनका अनुसार सञ्चयकर्ताले पाउने व्याजमा भने कुनै समस्या आउने छैन । सञ्चयकर्ताले बैंकमा रकम दाखिला गरेको मितिदेखि नै व्याज गणना हुने उनको भनाई छ ।

सञ्चय कोष स्रोतका अनुसार अहिले करिब ६ लाख सञ्यकर्ताको १० अर्ब रुपैयाँ रकम कोषले अपडेट गर्न बाँकी छ । वार्षिक औसत २ लाख चेक मात्रै कारोबार हुने कोषको भनाई छ ।

कोषका अनुसार हाल ५ लाख ९८ हजार सञ्चयकर्ताको ४ खर्ब ४४ अर्ब ४७ करोड रुपैयाँको सञ्चय कोष र निवृत्तभरण कोष छ ।
कोषको जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड छ । सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ । दायित्व भने ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले जनाएको छ ।सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज दिन्छ ।

पूर्ण डिजिटाइज गर्ने योजना

कोषका अनुसार अब कोषले पूर्ण रुपमा प्रविधिमैत्री हुने योजना बनाइरहेको छ । कोष स्रोतका अनुसार हाल धेरै कामहरु गर्दा केही सुस्तता देखिएकोले अब छिट्टै पूर्ण डिजिटाइजेसनमा गएर सेवाग्राहीको काम छिटो तथा छरितो गर्ने योजना छ ।

‘हुन त अहिले पनि धेरे कामहरु अनलाइनबाटै भइरहेको छ, तर, केही कामा सुस्तता नै छ, अब कसरी काम छिटो छरितो गर्न सकिन्छ, कसरी प्रवृधिमैत्री बन्न सकिन्छ भनेर आन्तरिक छलफल भइरहेको छ, हामी अध्ययन गरिरहेका छौं, छिट्टै नै कर्मचारी सञ्चय कोष पूर्ण प्रविधिमैत्री भएको देख्न सक्नुहुन्छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले पनि विशेष सापटी लगायतका सेवाहरु अनलाइनबाटै भइरहेका छन् । अहिले कोषले सञ्चयकर्तालाई दिनु पर्ने सामान्य सेवाहरु अनलाइनबाट नै भइहरेका छन् ।

‘हामीले विशेष सापटी पनि अनलाइनमा आवेदन गर्ने बित्तिकै सेवा दिन्छौं, कसैले जुम्लाबाट विशेष सापटी लिने चाहेमा उसले घरबाटै आवेदन दिन्छ, हामीले सो सञ्चयकर्ताको सबै अध्ययन गरेर ऋण स्वीकृत गर्छौं, १०० प्रतिशत धितो छ भने सोको ८० प्रतिशत ऋण दिन्छौं, ’ उनले भने ।

उनका अनुसार विशेष सापटी योजना अन्तर्गत जागिर नै धितो हो । ‘यदि कुनै सञ्चयकर्ताको कुल १ लाख रुपैयाँ कोषमा जम्मा भएको छ भने सो व्यक्तिले विशेष सापटी योजनाको सुविधा लिन चाहेमा ८० हजार रुपैयाँ ऋण पाउँछ, यो सबै काम अनलाइनबाट नै हुन्छ’ सञ्चय कोष स्रोतले भने ।

3 comments on "सञ्चय कोषले ४ महिनादेखिको सञ्चयकर्ताको रकम ‘इन्ट्री’ गरेन, व्याज के हुन्छ ?"

  • Yam Prasad Pandey says:

    We expect to update the fund in time

  • madan says:

    नागरिक लगानकाेषकाे अवस्था झन खराब छ । यिनिहरूलाई कस्ले नियमन गर्छ हाेला ।

  • Kisun yadav says:

    सबै नगरपालिका को जग्गा धोती राख्न सकिन्छ त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.