काठमाडौं । गण्डकी प्रदेश अन्तरगतका पूर्वाधार निर्माणको अवस्था दयनीय देखिएको छ । ठूलो तामझाम र तयारीका साथ संचालन गरिएका राष्ट्रिय गौरवकै आयोजना निर्माण कार्य समयमै नसकिने लगायतका समस्या देखिएका छन् ।
नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक गतिविधि सम्बन्धी वार्षिक प्रतिवेदनमा यस्तो देखाएका हो । सो प्रदेश अन्तरगत पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, बुढीगण्डकी जलविद्युत आयोजना, कालीगण्डकी करिडोर र गोरखा–लमजुङ सडक खण्ड अन्तरगतको मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवका आयोजना छन् । यस्तै, तनहू जलविद्युत आयोजना पनि यही प्रदेश अन्तरगतको आयोजना हो ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजना निर्माणको कार्य जम्मा ८१ प्रतिशत मात्रै सकिएको छ । यो विवरण गत असार मसान्तसम्मको हो । २०७८ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको यो आयोजना २०७९ असार मसान्तसम्मका लागि म्याद थप भएको छ ।
सो विमानस्थल निर्माण आयोजनाबाट कुल ३४४ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमध्ये स्वदेशी कामदारको संख्या २३० छ भने विदेशी कामदारको संख्या १८५ रहेको छ ।
गण्डकी प्रदेश अन्तरगत पर्ने अर्काे राष्ट्रिय गौरवको आयोजना हो बुढीगण्डकी जलविद्युत आयोजना । गोरखा जिल्लामा निर्माण हुन गइरहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको शुरुवाती अनुमानित लागत २ हजार ५ सय ९३ मिलियन अमेरिकी डलर रहेको छ । वर्षायाममा १२ सय मेगावाट र सुख्खायाममा न्यूनतम ९१८ मेगावाट उत्पादन क्षमता रहने यस आयोजनाको निर्माण कार्यको मोडालिटी निर्धारण र डुबान क्षेत्रमा जग्गा मुआव्जा वितरणका कामहरु सम्पन्न हुने चरणमा छन् । यसबाहेकका अन्य कुनै पनि काम भएको छैन । सो आयोजनामा ३९ जनाले मात्रै रोजगारी पाएका छन् ।
कुल ४३१ किमी लम्बाई भएको उत्तर–दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्गको गत असार मसान्तसम्ममा करिब ७२.५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रिय गौरवको यस आयोजनाको प्रारम्भिक अनुमानित लागत २४.१ अर्ब रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०७८/७९ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
यस आयोजनाको कार्य प्रगति सन्तोषजनक हुन सकेको छैन । लोकमार्गमा पर्ने घर÷टहरा, जग्गा जमिनको मुआब्जा सम्बन्धी विवाद र वन कार्यालयबाट रुख कटानीको स्वीकृति प्राप्त गर्न पूरा गर्नुपर्ने लामो प्रक्रिया मुख्य समस्याको रुपमा रहेको आयोजनाको दाबी छ । कालीगण्डकी आयोजनामा १ हजार ५ सय जनाले रोजगारी प्राप्त गरेका छन् ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तरगत गण्डकी प्रदेशको गोरखा– लमजुङ् खण्डमा पर्ने १११ किमिमध्ये ५५ प्रतिशत कार्य सम्पन्न भएको छ । बाँकीको निर्माणकार्य धमाधम भइरहेको छ आयोजनाले जानकारी दिएको छ । यस्तै, कास्की–पर्वत–बाग्लुङ्खण्डमा पर्ने २४५ किमिमध्ये ८० प्रतिशत कार्य सम्पन्न भई बाँकी निर्माण कार्य धमाधम भइरहेको आयोजनाले जानकारी दिएको छ ।
गण्डकी प्रदेश अन्तरगत तनहुँ जिल्लामा पर्ने १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको अनुमानित लागत ५५ अर्ब रहेको छ । यस आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ४ प्रतिशत रहेको छ । यस आयोजनाबाट कुल २०० जनाले रोजगारी प्राप्त गरेका छन् ।
के हुन समस्या ?
सडक, सिँचाई, खानेपानी र सञ्चार लगायतका पूर्वाधार निर्माण सम्बन्धी कार्यहरुमा विभिन्न सरोकारवाला निकायहरुबीच आपसी समन्वयको अभावमा निर्माण खर्चमा दोहोरोपना आउने गरेको तथा व्यवस्थित अभिलेख समेत नरहने हुँदा मितव्ययिता अपनाउने कार्यमा चुनौती रहेको आयोजनाहरुले बताउने गरेका छन् ।
पूर्वाधार क्षेत्रका आयोजनाहरु निर्माणको क्रममा घर÷जग्गा मुआव्जा सम्बन्धी विवादको शीघ्र समाधान र स्थानीयहरुबाट हुने विभिन्न किसिमका मागहरुको सम्बोधन गर्न विलम्व हुने कारणले आयोजना समयमै सम्पन्न हुन नसक्ने तथा लागतमा वृद्धि हुने चुनौती देखिएको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड—१९ को संक्रमण जोखिम अझै कायम रहेको हुँदा राष्ट्रिय गौरबका आयोजना तथा पूर्वाधारको क्षेत्रमा आवश्यक कामदार, विशेषज्ञहरुको उपलब्धता नहुनु साथै आवश्यक कच्चा पदार्थ, मेशिन र उपकरणको सहज आपूर्ति नहुनु, विस्फोटक पद्धार्थ समयमा आउन नसक्नु जस्ता समस्याहरु रहेका सरोकारवालाले बताएका छन् ।
प्राकृतिक प्रकोपको कारण (बाढी, पहिरो) पूर्वाधार निर्माणमा कठिनाई, समयमा आयोजना सम्पन्न नहुने कारणले क्षती हुने समस्या रहेका आयोजनाहरुको भनाई छ । यस्तै, सडक निर्माणका क्रममा ठेकेदारहरुले परियोजना (निर्माणको सम्पूर्ण कार्य, मजदुर, निर्माण सामाग्री, निर्माण सम्बन्धी उपकरण) को बीमा गर्ने गरेको भए तापनि निर्माण कार्यमा विभिन्न कारणले भएको क्षतिको दाबी गर्दा बीमा कम्पनीबाट न्यून मात्रामा क्षतिपूर्ति रकम प्राप्त हुने र त्यस्तो रकम समयमा भुक्तानी नहुने समस्या रहेको आयोजनाहरुको भनाई छ ।