काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी २०५० सालमा नेपाली बीमा क्षेत्रमा प्रवेश गर्दा देशको पाँचौं निर्जीवन बीमा कम्पनी थियो । विभिन्न कालखण्डमा अनेकन आरोह अवरोहहरु सामना गरेको युनाइटेडले २८ वर्ष पार गरिसकेको छ । ‘रजत जयन्ती’ मनाइसकेको युनाइटेड अहिले परिपक्व कम्पनीका रुपमा अगाडि बढिरहेको छ ।
देशको ठूलो व्यवसायिक घरानाहरु चौधरी ग्रुप, एनई ग्रुप लगायतद्वारा प्रवर्द्धित यो कम्पनी कुनै बेला बिजनेसको हिसावले ‘टप थ्री’ बीमा कम्पनीहरुमध्येमा पर्थ्याे । तर, समय सँधै एकनास र एकसुरमै कहाँ हुन्छ र ! युनाइटेड इन्स्योरेन्सको हकमा पनि लागू भयो व्यवसायिक आरोह अवरोधहरु ।
फरक रणनीति र व्यवसायिक योजना लिएर आएका नयाँ-नयाँ बीमा कम्पनीहरुका अगाडि युनाइटेड पछि पर्न थल्यो । सोही कारण हुन सक्छ, नेपाली बीमा कम्पनीहरुमा सबैभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरु फेरिने कम्पनीहरुमध्ये युनाइटेड इन्स्योरेन्स पनि पर्न थाल्यो ।
सञ्चालक समितिले बीमा बजारका एक से एक हस्तीलाई सीईओ नबनाएको पनि होइन विगतमा । यो २८ वर्षको अवधिमा कम्पनीमा २ दर्जन बढी सीईओ फेरिए । तर, कम्पनीले अपेक्षाकृत प्रगति गरिरहेको थिएन ।
युनाइटेडमा पात्रहरु धेरै फेरिए । तर, बजारमा जबरजस्त उपस्थिति, जुनस्तरको अपेक्षा गरिएको थियो, त्यसो भइरहेको थिएन ।
दिन सबैका आउँछन् । बजार कसैको पेवा होइन । विगतको ट्याक रेकर्डकै भरमा आजको गेम जित्न सकिन्न । आज गेम जित्न आज राम्रो खेल्नुपर्छ । यो नियम खेल र व्यवसाय दुबैमा उत्तिकै लागू हुन्छ ।
युनाइटेड इन्स्योरेन्सको हकमा पनि अहिले यही नियम लागू भएको छ । कुनै बेला धेरैको नजरबाट ओझेलमा पर्न थालेको युनाइटेडले अहिले आश्चर्यजनक रुपमा यूटर्न गरेको छ । हिजोको ‘टप थ्री’को आफ्नो स्थान सुरक्षित राख्ने रणनीतिका साथ युनाइटेड इन्स्योरेन्स अहिले अगाडि बढिरहेको छ ।
‘हामी नयाँ भिजन, नयाँ मिसन र रणनीतिका साथ अगाडि बढिरहेका छौं, विगतका गल्ती र कमजोरी सुधार गर्दै क्लाइन्ट (ग्राहक) मनाउन सफल भएका छौं, स्थापनाकालको हाम्रो स्थान हामी सुरक्षित बनाउने किसिमले काम गरिरहेका छौं, आगामी एक वर्षभित्रै ‘टप फाइभ’ मा युनाइटेड इन्स्योरेन्स भएको सबैले देख्नुहुन्छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले हामीलाई यस्तो सुनाउँदै गर्दा उनको आवाज कम, आत्मविश्वास बढी सुनिए जस्तो लाग्थ्यो ।
तथ्यांकले पनि युनाइटेड इन्स्योरेन्सले अहिले व्यापारमा लोभलाग्दो प्रगति गरेको देखाएको छ ।
‘कुनै समय हामी ‘टप फाइभ’ मा पर्थ्यौं, बीचमा हामी तल झर्यौं, हुन त बिजनेस हो, कहिले माथि त कहिले तल हुन्छ नै तर, हामी धेरै समयसम्म नोक्सानमै रह्यौं, हाम्रा सेवाहरु परिस्कृत नगरेकै कारण ठूला क्लाइन्टहरु पनि छोडेर जानु भयो, अहिले विगतको पाठ सिक्दै अगाडि बढ्न खोजेका छौं,’ सीईओ पौडेल विगत सम्झदै भन्छिन् ।
उनका अनुसार युनाइटेड अहिले सम्पूर्ण रणनीतिहरु बदलेर बजारमा गएको छ । यो दुई वर्षकै अवधिमा कम्पनीले राम्रो नतिजाका लक्षणहरु देखाइसकेको छ ।
‘हामी नम्बरमा मात्र यूटर्न भएनौं, विगतमा छुटेका ग्राहकहरुलाई पनि फिर्ता ल्याउन सफल भयौं, जुन हाम्रो लागि ठूलो उपलब्धि हो, उहाँहरु पनि हामीलाई विश्वास गरेर पुनः फर्किनु भयो, हामीले अर्गानिक ग्रोथ र नाफामुखी ग्रोथलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन् ।

युनाइटेडले अपनाएको जुक्ति
युनाइटेड इन्स्योरेन्स कम्पनीलाई छोडेर गएका ग्राहकहरुलाई पुनः कम्पनीमै ल्याएर गुणस्तरीय सेवा दिनु सामान्य विषय थिएन । तर, त्यो ठूलो चुनौतिलाई युनाइटेड व्यवस्थापनले सम्भव तुल्यायो ।
सीईओ पौडेल कम्पनीलाई पुनः सुरुवातकै चरणमा ल्याउन अर्थात पुनर्जीवित गर्न आधारभूत कामबाटै शुरु गरेको बताउँछिन् । उनले कम्पनीको रि-ब्राण्डिङ, लोगो परिवर्तनदेखि बजारमा प्रस्तुत हुने शैली समेत परिवर्तन गर्नुपरेको अनुभव सुनाउँछिन् ।
‘हामीले झन्-झन् तल गइरहेको युनाइटेडलाई यो अवस्थामा ल्याउनका लागि पुनः ब्राण्डिङ गर्यौं, कम्पनीको लोगो परिर्वतन गर्यौं, ‘राइट पिपुल इन दी राइट प्लेस’ को सिद्धान्तलाई अवलम्बन गर्यौं र स्ट्रोङ्ग टीम र स्ट्रोङ्ग सर्भिसले नै हामीलाई अगाडि बढ्न मद्दत गर्यो, हामीले यो बीचमा प्रविधिको प्रयोग पनि धेरै बढायौं, ’ उनले आफ्नो अनुभव सुनाइन् ।
उनले हरेक प्रणाली अटोमेटेड (स्वचालित) गरेर ग्राहकलाई छिटो तथा छरितो सेवा दिइरहेको पनि बताइन् । साथै, ग्राहकलाई आकर्षित गर्नको लागि स-साना विषयहरुमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
एक वर्षभित्रै ‘टप फाइभ’
स्थापनाकालमा निर्जीवन कम्पनीको ‘टप थ्री’ मा रहेको युनाइटेको अबको एक वर्षभित्रै ‘टप फाइभ’ भित्र पर्ने योजना छ । हाल २० वटा निर्जीवन कम्पनीहरुमध्ये टप १५ भित्र युनाइटेड इन्स्योरेन्स पर्छ ।
‘हामीले बन्न चाहेको ‘नम्बर वान’ कम्पनी हो तर, तत्कालै असम्भव नै छ, जसको लागि हाम्रो प्रयास जारी छ, यात्रा लामो छ, हामीले अब एक वर्षभित्रै ‘टप फाइभ’ मा आउने हो, सकिँदैन भनेर मेहेनत गर्न छोड्ने होइन, असम्भव भन्ने केही छैन,’ सीईओ पौडेल भन्छिन् ।
उनका अनुसार अबको ४ वर्षको अवधिमा युनाइटेडले ५ प्रतिशत बजार हिस्सा ओगेट्नेछ । युनाइटेडले मर्जरभन्दा पनि प्राप्तितर्फ ध्यान दिने उनले सुनाइन् । कुनै कम्पनीलाई प्राप्ति गरेमा अझ कम्पनीको बजार हिस्सा बढ्ने उनको अनुमान छ ।
‘मेरो ४ वर्षको कार्यकालमा कम्पनीलाई ‘स्टेबल’ बनाउने ईच्छा छ, २०७८/७९ मा जसरी भएपनि लाभांश दिने हो, केही भएन भनेपनि न्यूनतम ५ प्रतिशत त हामी दिन सक्ने अवस्थामा हुन्छौं,’ उनले भनिन् । यस्तै, वार्षिक साधारणसभा पनि पुसभित्रै गरिसक्ने कम्पनीको लक्ष्य छ ।
‘पहिले युनाइटेडले दिने भुक्तानी एक/दुई वर्ष लाग्थ्यो, अहिले चार दिनभित्रै हुन्छ, १० प्रतिशतको प्रोटफोलियो हुनेहरु अहिले शतप्रतिशत बढाउन चाहन्छन्, यो क्लाइन्टहरुले महशुस गरेर नै सम्भव भएको हो, हामीले सामाजिक सञ्जालहरुलाई पनि प्राथमिकता दिएका छौं, अहिलेको नयाँ पुस्ता सामाजिक सञ्जालमा बढी अभ्यस्त छ, उनीहरुलाई फोकस गरेर पनि हामीले हाम्रो वेवसाइटलाई परिस्कृत गर्यौं, अझै बढी दह्रो बनेर जाने प्रयास गरिरहेका छौं,’ उनले भनिन् ।
उपासनाको प्रवेशले पाएको सफलता
कम्पनी वा संस्थाको वृद्धि विकासमा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ भन्ने महशुस अहिले सीईओ पौडेलले गराएकी छिन् । दुई वर्ष अगाडि नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हुँदैदेखि युनाइटेडले आफ्नो लय समातेको थियो । केही वित्तीय सूचकमा चमक देखिसकेको थियो । तर, अहिले सबै सूचकहरुमा उछाल छ ।
अहिले उनी कम्पनीको सीईओ छिन् । उनी कम्पनीमा प्रवेश भएको यो दुई वर्षमै कम्पनीले उल्लेख्य प्रगति गरिसकेको छ । उनी शुरुमा कम्पनीको डीसीईओका रुपमा २०७६ मंसिर १५ गते नियुक्त भइन् । त्यसको ११ महिनापछि अर्थात २०७७ कार्तिकमा कार्यवाहक सीईओको रुपमा नियुक्त भइन् । र, कार्यवाहक भएको ६ महिनापछि अर्थात गत वैशाख १६ गते उनी कम्पनाको सीईओमा नियुक्त भइन् ।
यो दुई वर्षको अवधिमा कम्पनीले राम्रै प्रगति गरेको तथ्यांकले देखाउँछ । सबल नेतृत्वको प्रवेशले कम्पनीमा कति फरक पार्दो हरेछ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘नेतृत्वले नै कम्पनीको भविश्य निर्धारण गर्छ, कम्पनीको शतप्रतिशत प्रभाव नेतृत्वले नै पार्छ, राम्रो टीम भएपनि टीमलाई सही रुपमा परिचालन गर्ने खुबी पनि नेतृत्वमा हुनु पर्छ ।’
उनका अनुसार विगतमा युनाइटेडको सर्भिस नरुचाउने क्लाइन्टहरु अहिले युनाइटेडको नै सेवा लिन चाहन्छन् ।
‘ठूलो-ठूलो व्यापारीहरुले कमव्याक गर्न सक्छन् भन्ने प्रमाणित पनि युनाइटेडले गरेको छ, अहिले प्रमोटरहरुले पनि युनाइनेट होल्ड गर्न चाहन्छन्, बेच्नभन्दा युनाइटेडको सेयर किन्न इच्छुक हुनुहुन्छ, जुन हाम्रो ठूलो सफलता हो,’ उनी भन्छिन् ।
वित्तीय परिसूचकमा उछाल
युनाइटेड इन्स्योरेन्सको विगतका आर्थिक वर्षहरुको तुलनामा गत आर्थिक वर्षको वित्तीय विवरणमा ठूलो भिन्नता देखिन्छ । कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्म ३३०.३८ प्रतिशतको खुद नाफा वृद्धि गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा १ करोड ७४ लाख ८० हजार रुपैयाँ मात्रै खुद नाफा गरेको यस कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ७ करोड ५२ लाख ३१ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
यस्तै, कम्पनीले गत वर्ष मात्रै आफ्नो इतिहासमा नयाँ रेकर्ड बनाएको छ । पहिलो पटक एक अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेर कम्पनी अर्ब क्लबमा मिसिएको छ, जुन युनाइटेडका लागि ठूलो सफलता हो ।
कम्पनीले गत वर्ष मात्रै १ अर्ब ५ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही समयमा ६९ करोड ८९ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को तुलनामा आव २०७६/७७ मा उल्लेख्य प्रगति गरेको देखिएको छ । कम्पनीले यो एक वर्षको अवधिमा चुक्ता पुँजीमा २४० प्रतिशतको वृद्धि गरेको छ । आव २०७५/७६ मा ३० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आव २०७६/७७ मा १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ ।
यस्तै, कम्पनीको जगेडा कोषमा पनि १४४ प्रतिशतको वृद्धि भएको छ । आव २०७५/७६ मा ३ करोड रुपैयाँको जगेडा कोष रहेकोमा आव २०७६/७७ मा ७ करोड ३७ लाख रुपैयाँको पुगेको थियो । हाल भने कम्पनीको जगेडा कोष ११ करोड बढी रुपैयाँको पुगिसकेको छ ।
सेयर मूल्य पनि बढ्यो
यो एक वर्षको अवधिमा कम्पनीको सेयर मूल्यमा पनि उछाल देखिएको छ । एक वर्ष अगाडि २८० रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको सेयर मूल्य आजको दिनमा ८२४ रुपैयाँ पुगेको छ । हाल कम्पनीको सेयर मूल्यको माग पनि उच्च बढेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी ७.३२ रुपैयाँ छ । कम्पनीको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १४३.२३ रुपैयाँ छ । कम्पनीको परिसूचकहरुमा अघिल्लो वर्षको वासलातपछि मात्रै ठूलो परिवर्तन आएको उनी बताउँछिन् ।
सेयरधनी, टीम र ग्राहकलाई सन्देश
सीईओ पौडेल युनाइटेड इन्स्योरेन्सको कमब्याक सेयरधनीहरुको आत्मविश्वास र भरोसा, सहकर्मीहरुको साथ र ग्राहकहरुको कम्पनीप्रति देखाएको विश्वासले सम्भव भएको बताउँछिन् ।
‘समस्या र कमजोरी जुनसुकै क्षेत्रमा हुन्छन्, तर, विगतलाई हेरेर वर्तमानलाई मूल्यांकन गर्नुहुँदैन, हामीले धेरै उपलब्धि पाइसकेका छौं, अझै प्रयास गरिरहेका छौं, सेयरधनी र सहकर्मी साथीहरुको अपेक्षा पुरा गर्ने र ग्राहकहरुलाई दिनुपर्ने सेवामा हामी प्रतिवद्ध छौं,’ उनले भनिन् ।
सानै वस्तु र थोरै रकमबाट बीमा गर्न शुरु गरेपनि युनाइटेडमा जोडिन उनी सबैलाई आग्रह गर्छिन् । अब नयाँ पोलीसीहरु पनि ल्याउने योजनामा कम्पनी रहेको उनको भनाई छ ।
सम्बन्धित सामग्री: म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’