काठमाडाैं । टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुतका लागि असार ९ गते नवौँ नगरसभा आह्वान गरेको हो ।
टोखाले नगरसभामा प्रस्तुत गर्ने नीति कार्यक्रमका लागि वडास्तरीय योजना छनोट गरिरहेको छ । सो नगरपालिकाले गत जेठ २६ गते नगरपालिकाभित्रका कृषि, उद्योग वाणिज्य, पर्यटन, सहकारी र वित्तीय क्षेत्रको योजना छनोट गरेको थियो ।
यस्तै जेठ २७ गते शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवद्र्धन, जेठ २८ गते सडक, पुल, झोलुङ्गे पुल, सिँचाइ, भवन तथा शहरी विकास, ऊर्जा, जेठ ३० गते वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्र र जेठ ३१ गते सामान्य सेवा, सुरक्षा व्यवस्थापन, सूचना प्रविधि, पञ्जीकरण व्यवस्थापनलगायतका बारेमा अध्ययन अनुसन्धान गर्नाका साथै योजना छनोट गरेको हो ।
यही असार ५ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिद्वारा एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा गरी असार ७ गते नगर कार्यपालिकाको बैठक राखी बजेट तथा कार्यक्रम स्वीकृत गर्ने कार्यक्रम रहेको नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले जानकारी दिईन । उनका अनुसार आगामी आवको नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखिएको हो ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएकाले बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो । टोखाले प्रत्येक वडामा अत्याधुनिक सेवा सुविधासहितको स्वास्थ्य केन्द्र सञ्चालन गर्ने नीति लिएको छ ।
सो नगरपालिकाको वडा नं २ मा सञ्चालित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गरेको नपाले आगामी साउनदेखि नगरवासीलाई ‘होलवडी चेकअप’ को व्यवस्था मिलाउन लागेको छ ।