काठमाडौं । प्रदेश १ सरकारले आज आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश नम्बर १ सरकारले जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाई, शिक्षा र पोषणसँग सम्बन्धित कार्य मुख्य प्राथमिकतामा राखेको छ ।
अधिकारीले कोभिडविरुद्धको खोपमा सबै प्रदेशवासीको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न डिजिटल स्वास्थ्य, डिजिटल प्रदेश’ कार्यक्रम कार्यान्वयनमा ल्याइने प्रदेश प्रमुख अधिकारीले बताए ।
उनले औषधि, अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको सहज आपूर्ति तथा वितरण व्यवस्थापनका लागि संघीय सरकारसँगको समन्वय तथा सहकार्यमा सबै संशाधनको अधिकतम परिचालन गर्ने व्यवस्था मिलाइने जानकारी दिए।
उनले भने, ‘राजनीतिक दल, समुदाय, निजी क्षेत्र, सञ्चार जगत तथा नागरिक समाजसँगको समन्वय र सहभागितामा विद्यालय तथा समुदायमा स्वास्थ्य चेतनाका कार्यक्रम सञ्चालन गरिनेछन्।’
अधिकारीले कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मीलगायत सुरक्षा निकायका राष्ट्रसेवकको मनोबल अभिवृद्धि गर्न अतिरिक्त पारितोषिकको व्यवस्था गरिने घोषणा गरे। अधिकारीले मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १ सय र अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गरिने उल्लेख गरे।
उनले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा सबैको पहुँच वृद्धि गर्न स्थानीय सरकार तथा उद्योग व्यवसायसँग सहकार्य गरी वृत्ति परामर्श मेलाको आयोजना गरिने जानकारी दिए। उनले बाल विकास केन्द्र प्रदेश सरकारको प्राथमिकतामा रहने र प्रारम्भिक कक्षा देखि नै त्रिभाषिक शिक्षालाई जोड दिइने उल्लेख गरे।
उनले सरकारी विद्यालयलाई प्रविधिमैत्री बनाउन र अपाङ्ग एवं लैङ्गिक मैत्री शौचालय लगायतका संरचना निर्माण गर्न स्थानीय तहसँग सहकार्य गरिने चर्चा गरे। अधिकारीले सबै सरकारी माध्यमिक विद्यालयमा स्यानेटरी प्याड सुविधा र नियमित स्वास्थ्य परीक्षणको व्यवस्थालाई अनिवार्य गरिने सूचित गरे ।