काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा गरेको सम्बोधनले केही प्रश्न उब्जाएको छ ।
कोभिड महामारीको विषय उठान गरेर सुरु भएको उनको सम्बोधन आफूले नेतृत्व गरेको नेकपा एमालेकै असन्तुष्ट पक्षदेखि अन्य राजनीतिक दलहरुलाई गाली गर्नमा केन्द्रीत भयो । उनले आफ्नो सम्बोधनमा उठान गरेका यी विषय उनको स्वभाव र विगत सम्बोधनहरुसँग मिल्दोजुल्दो थियो ।
तर, त्यसपछि प्रधानमन्त्री ओली अनौठो कुरा सुनाउन थाले । उनले राष्ट्रका नाममा सम्बोधन गरेका भएपनि सरकारका नीति तथा कार्यक्रम पेश गरेको अनुभूत हुने प्रकारको थियो ।
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने बेला भइसकेको तर आफूले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन सक्ने अवस्था नभएकोले राष्ट्रपति समक्ष संविधानको धारा ७६ को (५) अनुसार सरकार गठन गर्न मार्ग प्रसस्त गर्दै सिफारिस गरेको दोहोर्याए । यसो गर्नुको कारण बजेट सार्वजनिक गर्ने, संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने समय भइसकेकोले समय खेर नफाल्न यस्तो गरिएको बताएका थिए ।
सरकारले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरेन । नीति तथा कार्यक्रम पेश गर्ने समयमा प्रतिनिधिसभा विघटन नभएको भए पनि सरकारले संसद बैठक नै बोलाएको थिएन । तर, प्रतिनिधिसभा विघटन भएपछि बजेट ल्याउने अघिल्लो दिन प्रधानमन्त्रीले सरकारका नीति तथा कार्यक्रमको झल्को दिन प्रकारका विषय समावेश गरेर सम्बोधन गरे ।
प्रधानमन्त्रीको यो सम्बोधनले केही प्रश्नहरु भने जन्माएको छ । सरकारको नीति तथा कार्यक्रम पेश गर्ने जिम्मेवारी राष्ट्रपतिको हो । तर, प्रतिनिधिसभा विघटन भएको बहाना देखाएर प्रधानमन्त्री ओलीले राष्ट्रपतिले सार्वजनिक गर्नुपर्ने सरकारको नीति तथा कार्यक्रम आफैले सार्वजनिक गरे । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यले प्रधानमन्त्री ओली राष्ट्राध्यक्ष हुन् कि होइनन् भन्ने प्रश्न उब्जाएको छ । अहिले राष्ट्राध्यक्षको रुपमा विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी वहन गरिरहेकी छन् ।
यस्तै, उनले आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता तथा सिद्धान्त जस्ता विषय पनि आफ्नो सम्बोधनमा समेटे । बजेटका प्राथमिकता र सिद्धान्त पनि प्रधानमन्त्रीले सम्बोधनका क्रममा समावेश गरेपछि उनी अर्थमन्त्रीको हैसियतमा पनि आफै प्रस्तुत भएको आभास मिलेको छ । जबकि अहिले विष्णुप्रसाद पौडेल अर्थमन्त्रीको जिम्मेवारीमा छन् ।
प्रधानमन्त्री ओलीले आजको सम्बोधनमा सरकारका आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो भन्ने पनि पुष्टी गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनको बुँदा नम्बर ७० मा भनेका छन्, ‘आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत सार्वजनिक गरिनेछ ।’ उनको यो अभिव्यक्तिले पनि प्रधानमन्त्री ओली राष्ट्रपतिले गर्ने काम पनि आफै गर्न अग्रसर छन् भन्ने पुष्टी गर्छ ।