भ्याक्सिन प्रकरणबारे विवेकशील साझाले सरकारलाई सोध्यो ४ प्रश्न

<p>काठमाडौं । विवेकशील साझा पार्टी कोरोना भाइरस विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणहरूप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । विवेकशील साझा पार्टी खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा पश्चात् आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा [&hellip;]</p>

काठमाडौं । विवेकशील साझा पार्टी कोरोना भाइरस विरुद्धको भारतीय खोप खरिद प्रक्रियामा अवरोध एवम् अन्य मुलुकमा उत्पादित खोप ल्याउन सरकारको अलमलबारे हालै सार्वजनिक समाचार विवरणहरूप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।

विवेकशील साझा पार्टी खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा पश्चात् आफ्नो अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार आफू चाहिँ चोखिने प्रयत्न गरिरहेको निष्कर्षमा पुगेको छ।

पार्टीले यही परिप्रेक्ष्यमा सरकारलाई विभिन्न गम्भीर प्रश्नहरू गरेको छ ।

१. महामारीजस्तो राष्ट्रिय/विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन ?

२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छरु फेरी, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र ?

३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्‍यो ?

४. प्रधानमन्त्री केपी ‌ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए । मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन । बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ ?

चाहे व्यापारी हुन् या सरकार, यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध हो । यसर्थ खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही होस् भन्ने पार्टीकाे माग छ ।

तर सरकार त्यतिमै उम्किन पाउँदैन, यी सबै घटनाको उसले जिम्मेवारी लिनुपर्छ । विवेकशील साझा पार्टी माथि उल्लेखित चार प्रश्नहरूको स्पष्ट र चित्तबुझ्दो जवाफ तत्काल नागरिकसमक्ष पेस गर्न सरकारसँग माग गर्दछ । अन्यथा राज्यले आफूलाई निरीह देखाएर, आंशिक विवरणहरू मात्र बाहिर ल्याएर सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न अनेक भाष्य निर्माण गर्नु कदापि स्वीकार्य हुन सक्दैन ।

जनताको अभिभावक सरकार हो, व्यापारी होइन । राज्य शक्ति सरकारसँग छ, व्यापारीसँग होइन । तसर्थ भारतीय कम्पनीलाई पैसा तिरेर पनि प्राप्त हुन बाँकी १० लाख डोजसहित आवश्यक परिमाणको खोप अन्य मुलुकबाट चाँडो आयात गर्न पार्टीले सरकारसँग माग गरेको छ ।

Share News