कांग्रेस अनुशासन समितिद्वारा कार्यवाहक सभापति खड्कासँग स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय अनुशासन समितिले चौधौँ महाधिवेशनका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । समितिको बैठक आज बुधबार ११ बजे बस्दैछ ।

बैठकमा खड्काले पछिल्ला दिनमा अघि बढाइरहेका गतिविधि रोक्न र तिनका कारणबारे लिखित स्पष्टीकरण माग्ने प्रस्ताव टुंग्याउने एजेन्डा रहेको समिति स्रोतले जनाएको छ । समितिले खड्काले पछिल्लो समयमा गरेका राजनीतिक तथा संगठनात्मक गतिविधि पार्टीको विधान र आन्तरिक शिष्टाचारसँग कति मेल खान्छ भन्ने विषयमा औपचारिक प्रश्नावली पठाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए ।

प्रारम्भिक छलफलअनुसार स्पष्टीकरणको समयसीमा तोक्ने र त्यसपछि आवश्यक निर्णयमा जाने प्रक्रियाबारे समेत बैठकले मार्गनिर्देशन गर्ने तयारी भइरहेको ती सदस्यले बताए । खड्काले कार्यवाहक सभापतिको रूपमा आफ्ना गतिविधि गरेकोमा कांग्रेस नेतृत्व रुष्ट रहेको छ ।

अनुशासन समितिले औपचारिक स्पष्टीकरण सोधेपछि खड्काको प्रतिक्रिया सार्वजनिक भएको आधारमा थप कारबाहीबारे सोच्ने समितिका एक सदस्यले जानकारी दिए ।

Share News