काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित धेरै स्थानमा कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुँदै गएको छ । संक्रमण दर बढ्न थालेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानका शैक्षिक संस्था ३ हप्तासम्म बन्द गर्ने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गरिसकेको छ ।
विद्यालय संचालनको अधिकार स्थानीय तहलाई छ । विद्यालय संचालनको अधिकार पाएकामध्ये काठमाडौं र ललितपुर महानगरपालिकाले भने तत्काल विद्यालय बन्द नगर्ने जनाएका छन् । संघीय सरकारले विद्यालय बन्द गराउने निर्देशन जारी गरेमा बाध्य भएर बन्द गराउने तर आफै अग्रसर भएर बन्द भने नगराउने यी २ महानगरको भनाई छ ।
कोभिड–१९ संक्रमण दर बृद्धि भएको तथ्य सार्वजनिक भइरहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय संचालन गर्नुपर्ने काठमाडौं महानगरको भनाई छ । लामो समयपछि भर्खर विद्यालय संचालनमा आएका र फेरि बन्द गर्दा शैक्षिक क्यालेन्डरदेखि धेरै विषय प्रभावित हुने भएकोले बन्द गर्ने पक्षमा आफूहरु नभएको काठमाडौं महानगर अन्तर्गतको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । उनले विभागले महानगरपालिका भित्रका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको बारेमा अनुगमन गरिएको भन्दै तत्काल बन्द गर्नुपर्ने अवस्था नआएको जानकारी दिए ।
‘सीसीएमसीले तत्काल विद्यालय बन्द गर्न मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पेश गरेको भन्ने सुनिएको हो, मन्त्रिपरिषद्ले एकैपटक देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरे उक्त निर्णय लागू हुन्छ । तर, विद्यालय बन्द गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई दिएमा काठमाडौं महानगरमा तत्काल विद्यालय बन्द गर्दैन,’ सुवेदीले विकासन्युजसँग भने ।
उनले माथिबाट नै बन्दको निर्णय गरेमा बैकल्पिक विधिबाट पठनपाठन शुरु हुने बताए । महानगरले बैकल्पिक रुपमा पठनपाठन गर्न सक्ने सबै संरचना तयारी अवस्थामा राखेको र त्यस्तो अवस्थामा अनलाइन मार्फत पठनपाठन शुरु हुने जानकारी दिए ।
‘हामीले सबै तयारी गरेर भौतिक उपस्थितिमा पठनपाठन शुरु गरेका हौं, हतार गरेर बन्दको निर्णय हुँदा ठूलो नोक्सानी हुन्छ । माथिबाट विद्यालय बन्दको जिम्मा स्थानीय तहको रहने भनिएमा हामी विद्यालय बन्द गर्दैनौं’, उनले भने ।
यसैगरी, ललितपुर महानगरपालिकाका शिक्षा विभाग प्रमुख महेन्द्र क्षेत्री पनि माथिबाट आएको निर्णयका आधारमा विद्यालय सञ्चालन तथा बन्दको विषयमा थप निर्णय हुने बताउँछन् ।
‘अहिले नै बन्द गर्नुपर्ने अवस्था छैन, हामीले स्वास्थ्य सुरक्षाको सम्पूर्ण तयारीका साथ विद्यालय सञ्चालन गरेका हौं, कोरोना नियन्त्रण नै गर्ने हो भने, सुरुवातमा धेरै भिडभाड हुने सार्वजनिक क्षेत्र बन्द गर्नुपर्छ’, उनले भने ।
सरोकारवालासँग छलफल गर्दै मन्त्रालय
सीसीएमसीले विद्यालय बन्द गर्न प्रस्ताव गरेपछि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने भएको छ । मन्त्रालयले सोमबार बिहान विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको आवश्यक तयारीको विषयमा छलफल गर्न निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल (एनप्याब्सन) लगायत शैक्षिक क्षेत्रसँग सरोकारवाला निकायलाई छलफल गर्न लागेको हो ।
छलफलमा विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने वा स्वास्थ्य सुरक्षा अपनाउदै विद्यालय सञ्चालन गर्ने दुई विषयमा छलफल हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
विद्यालय खुल्दा कसरी प्रदुषण बढ्यो ?
गत साता सरकारले काठमाडौं लगायतका जिल्लामा वायु प्रदुषण उच्च भएको भन्दै एक साता विद्यालय बन्द गरेको भन्दै एक प्रधानाध्यापकले असन्तुष्टि व्यक्त गरे ।
‘कोरोना महामारीबाट भर्खर शुरु भएको पठनपाठन प्रदुषणका कारण बन्द गरियो । सवारीका साधन सञ्चालनमा बृद्धि भइरहेको छ । काठमाडौंका सबै सार्वजनिक सवारी साधनले कोचाकोच गरेर यात्रु ओसारी रहेका छन्, सरकारको ध्यान पुराना सवारी साधनको व्यवस्थापनतिर छैन, विद्यालय सञ्चालन गरेर कसरी प्रदुषण भयो’, प्रमुख केसीले प्रश्न गर्दै भने ।
सम्बन्धित सामग्री