अनलाइनबाट सबैलाई पढाउन सकिन्न, विद्यालय बन्द नगराैं: प्याब्सन

  २०७७ चैत २९ गते १४:१५     विकासन्युज

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सबै ठाउँका विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गर्न सम्भवन नभएको जनाएको छ । तीन साता विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्तावप्रति प्याब्सन ले असन्तुष्टि व्यक्त गर्दै अनलाइन माध्यमबाट पठनपाठन गर्न सम्भव नरहेको स्पष्ट पारेको हो ।

आईतबार एक विज्ञप्ती जारी गर्दै विद्यालय बन्द गर्नुभन्दा संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने जनाएको हो । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा विगतको बन्दाबन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरी तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरूका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ ।

‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ ।

आ–आफ्ना बालबालिकाहरूलाई संक्रमणबाट जोगिन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दुरीको अवलम्वनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पु–याईदिनुहुन आम अभिभावकहरूलाई अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागी मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनुहुन नेपाल सरकार सँग माग गर्दछौं ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.