मौद्रिक नीतिको पर्खाइमा यातायात व्यवसायी, बम्पर राहतको अपेक्षामा

<p>काठमाडौं । यातायात व्यवसायीहरु पनि मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नेपाल राष्ट्र बैंकले आज ३ बजे सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत यातायात व्यवसायीहरुले बम्पर प्याकेज आउने अपेक्षा गरेका छन् । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा ग्यारेजमै थन्किएका सवारी साधनहरुलाई सडकमा निकाल्नको लागि उनीहरुले राहतका कार्यक्रमहरुको अपेक्षा गरेका छन् । सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय [&hellip;]</p>

काठमाडौं । यातायात व्यवसायीहरु पनि मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नेपाल राष्ट्र बैंकले आज ३ बजे सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत यातायात व्यवसायीहरुले बम्पर प्याकेज आउने अपेक्षा गरेका छन् ।

कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा ग्यारेजमै थन्किएका सवारी साधनहरुलाई सडकमा निकाल्नको लागि उनीहरुले राहतका कार्यक्रमहरुको अपेक्षा गरेका छन् ।

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको एक हप्ता बितिसक्दा पनि सार्वजनिक यातायात अझै चल्न सकेका छैनन् । तर, केही छुटपुट रुपमा भने काठमाडौंको सडकमा गाडी देखिन्छन् ।

अहिले यातायात व्यवसायीहरु सार्वजनिक यातायात कसरी चलाउने भनेर दैनिक छलफलमै व्यस्त छन् । सरकारको निर्णयपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार बैठक गरी तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था नरहेको निर्णय गरेको थियो ।

बजेटमार्फत धेरै राहतको अपेक्षा गरेका उनीहरुले बजेटमा आफ्ना धेरै समस्याहरु नसमेटिएपछि गाडी चलाउन नसकिने बताउँदै आएका थिए । उनीहरुले आर्थिक पुनरुत्थानका लागि धेरै राहत हुनु पर्ने माग राख्दै आएका छन् ।

लकडाउन अवधिको बैंकको कर्जा तिर्ने समय सार्नुपर्ने, ग्यारेजबाट गाडी निकाल्न पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकको कोरोना बीमा गरिदिनु पर्नेलगायत व्यवसायीका माग छन् ।

महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अहिले यातायात व्यवसायीहरु सरकारबाट राहतको अपेक्षा गरेको बताएका छन् । उनले आज आउने मौद्रिक नीतिबाट पनि आफुहरुले धेरै अपेक्षा गरेका बताए ।

‘हामी सवारी साधन चलाउने बारे छलफलमै छौं, सरकारले साउन ७ गतेसम्म लकडाउन नै कायम गरेको छ, त्यसपछि के हुन्छ हामी छलफलमै छौं,’ उनले भने ।

सरकारले अविलम्ब छलफल गरेर अन्योलको वातावरण हटाउनुपर्ने यातायात उनीहरुको माग छ । व्यवसायीलाई बैंकले पेलेको भन्दै मौद्रिक नीति मार्फत त्यो समास्याको समाधान हुनु पर्ने उनको भनाई छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक यातायात व्यवसायीका लागि मौद्रिक नीतिले सम्बोधन गर्ने पटक-पटक बताउँदै आएका छन् ।

Share News